
काठमाडौं । राष्ट्रियसभामा पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले प्रवेश पाएको छ । आइतबारको बैठकमा सांसदहरुले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन् ।
प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईले ‘प्रतिगामी तत्व’ कुर्लिन थालेको बताइन् ।
“फेरि पनि प्रतिगामी तत्व ब्युँझिदै छन्। संविधानको उल्लंघन गर्न खोज्दैछन्,”
उनले भनिन्, “लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् ।”
उनले प्राप्त उपलब्धि गुमाउनसक्ने खतराप्रति सजग हुनुपर्ने बताइन् । “प्राप्त गरेका उपलब्धि नगुमाउन सजग बनौं । संविधान कार्यान्वयनमा अघि बढौं,” उनले भनिन् । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरुले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए ।




