
ताप्लेजुङ। ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्कुमलुङ सहित उच्च हिमाली भेगमा सोमबार राति बाक्लो हिमपात भएको छ ।
जिल्लाको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।
ओलाङ्चुङगोलाका स्थानीयका अनुसार ओलाङ्चुङगोलासहितका हिमाली बस्तीमा यस वर्षकै बाक्लो हिउँ परेको छ । घुन्साका डोल्मा शेर्पाले पनि यस वर्ष हालसम्मकै बाक्लो हिमपात भएको बताउनुभयो । शेर्पाका अनुसार घुन्सा र फलेमा झन्डै आधा फिटसम्म हिउँ परेको छ । केही दिनयता निरन्तरको हिमपातका कारण निकै चिसो मौसम रहेको उहाँले बताउनुभयो ।
यस्तै सोमबार राति वर्षासँगै मैवाखोला गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, मिक्वाखोलाको तोक्पेगोला क्षेत्र, फक्ताङ्लुङको मानाभरा, सिदिङ्वाको तिम्बुङ पोखरी र सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनसहित माथिल्लो भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । यता तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा करिव एक फिटसम्म हिउँ थुप्रेको स्थानीयले जनाएको छ ।
त्यस्ते सदरमुकाम फुङ्लिङ बजार नजिक सुकेटार र हाङ्देवाको बुङ्कुलुङ क्षेत्रसम्म नै सामान्य हिउँ परेको छ । बुङ्कुलुङका स्थानीय पासाङडोल्मा शेर्पाका अनुसार सोमबार साँझको वर्षासँगै बुङ्कुलुङमा सेताम्मे हिउँ परेको छ । यस वर्ष बुङ्कुलुङ र सुकेटार नजिकसम्म पहिलो पटक हिउँ परेको हो ।
जिल्लामा बाक्लो हिमपात भएपछि चिसो निकै बढेको छ । यता लामो खडेरीपछि वर्षा र हिमपात हुँदा जिल्लाका किसान भने हर्षित भएका छन् । नगदे बाली अलैँची, फलफूल र हिउँदे बालीका लागि वर्षाले राहत पु¥याएको किसानको भनाइ छ । त्यस्तै मकै बाली गाउने बेलामा वर्षा भएकाले मकै बाली लगाउन र लगाई सकेको मकै बाली उम्रिनलाई सहज भएको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसानले बताउनुभयो ।




