शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष प्रचण्डले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ । सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।



