काठमाडौं ।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेका छन्।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद सकारात्मक भएपछि २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता गौतम पुरानै पार्टीमा फर्कन लागेका हुन्।
‘प्रधानमन्त्री ओली र वामदेव गौतम बीच आज पनि टेलिफोन संवाद भयो। उहाँले एमालेमै फर्किने जानकारी गराउनुभएको छ। शुक्रबारको कुराकानीमा पनि उहाँले त्यही बताउनुभएको थियो। उहाँले आफू पहिलेदेखि नै एमालेमा फर्कन इच्छुक भए पनि वातावरण नमिलेको बताउनुभएको थियो,’ गौतमनिकट एक नेताले बताए ।
ती नेताकाअनुसार प्रधानमन्त्री ओली र नेता गौतमबीच पदीय हैसियतबारे मूर्त कुराकानी भने भएको छैन।