
धूलिखेल । संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ ।
अधिवक्ता केदार कोईरालाको संयोजकत्वमा गठित समितिले उत्कृष्टताका आधारमा युवाहरुको छनौट गरेको थियो ।
सम्मानित हुने युवाहरुमा पत्रकारिता तर्फ मोतिराम तिमल्सिना,खेलकुदतर्फ भुम्लु गाउँपालिका १० का प्रिजन तामाङ, स्वास्थ्य विधाबाट बनेपा १० का डा.अशोक थापा, शिक्षा क्षेत्रबाट मण्डन देउपुरका निरन्जन सापकोटा, कृषि उद्यमी तथा पशुपंक्षी क्षेत्रबाट भुम्लु २ का प्रविन महत, वन तथा वातावरणबाट धुलिखेल २ का ईश्वर बञ्जारा, निजामती कर्मचारीको क्षेत्रबाट रोशी मंगलटारकी प्रेरणा क्याप्छ्याकी मगर, बैक तथा वित्तिय क्षेत्रबाट पाँचखालका संगम अधिकारी, विशिष्ठ क्षमता भएकाहरुबाट महेश्वर थापा, कला, साहित्यतर्फ कमलाकुमारी जोशी, युवा उद्यमीबाट नमोबुद्धका श्रीकृष्ण धिताल र विज्ञान तथा प्रविधी क्षेत्रबाट पनौती १ रयालेका सुरेश सापकोटा रहेका छन् ।

सम्मानित हुनेहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री तथा सांसद गोकुल बास्कोटा, नेकपा एमाले काभ्रेका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, अधिबक्ता केदार कोईराला, राष्ट्रिय युवा संघका अध्यक्ष इश्वरबल्लभ सापकोटा लगायतले सम्मान गरेका थिए ।
पूर्व मन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य माननीय गोकुल बास्कोटाले संविधान शंशोधनको विषय अपरिहार्य रहेको बताएका थिए । समयानुकुल परिमार्जन हुनु नै संविधानको विशेषता भएको बताउँदै उनले संविधान धर्म ग्रन्थ होइन,यो त गतिशिल दस्तावेज हो भन्दै प्रगतिशिल ढंगले राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि संशोधन जरुरी भएको बताए ।
प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्दै बास्कोटाले गर्न बाँकी धेरै कार्यभार रहेको औल्याए । कार्यक्रममा बोल्ने सबै बक्ताह्ररुले युवा संघ,नेपालको उक्त कार्यको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनमा राज्यका नीतिहरु अझै प्रभावकारी हुन नसकेको बताए । युवाहरुलाई सक्षम बनाउन, गतिशिल र क्षमतावान बनाउन सबै क्षेत्रले पहलकदमी लिनु पर्नेमा जोड दिए ।
राष्ट्रिय युवा संघ,नेपाल काभ्रेका अध्यक्ष इश्वरबल्लभ सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




