बोधगया । प्रथम अन्तर्राष्ट्रिय शाक्य सम्मेलन -२०२६ भारतको बोधगयामा भव्य रूपमा हालै सम्पन्न भएको छ।
कार्यक्रममा प्रख्यात भिक्षुहरू तथा विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन तथा विभिन्न बौद्ध परम्पराका सम्माननीय भिक्षु-भिक्षुणीहरूबाट आशीरवचन पाठ गर्नु भएको थियो।
ऐतिहासिक सम्मेलनमा शाक्य वंशका विभिन्न समुदायहरूको इतिहास, परम्परा, संस्कृति तथा वर्तमान चुनौतीहरूमाथि विद्वान् तथा भिक्षुहरूको गहन छलफल गरेको थियो।
त्यसपछि मुख्य अतिथि तथा वक्ताहरूको परिचय तथा सम्मान गरियो। प्रारम्भिक सत्रमा आयोजक डा. मृणाल कान्ति चाक्माले स्वागत मन्तव्य राखे। अध्यक्ष प्रोफेसर अभय कुमार सिंहले शाक्य वंश तथा परम्पराको विभिन्न युगहरूमा महत्वबारे आफ्ना विचार प्रस्तुत गरे।
कार्यक्रमको पहिलो सत्रमा जापानका शान्ति कार्यकर्ता भिक्षु वेनरेबल जुनसेई तेरासावा (Venerable Junsei Terasawa) ले “ऐतिहासिक प्राचीनकालदेखि वर्तमानसम्म: शाक्य वंश तथा यसको जीवन्त परम्परा” विषयमा बोल्दै शाक्य वंश मध्य एसियाबाट प्रवास भएको हुन सक्ने नयाँ विचार राख्नु भएको थियो।
जेएनयूको स्कूल अफ इन्टरनेशनल स्टडीजकी सहायक प्राध्यापक डा. वैशाली कृष्णाले “शाक्य वंश: संस्कृति, सुरक्षा तथा सभ्यता” विषयमा आफ्नो प्रस्तुति राखिन्। यो सत्र प्रोफेसर अभय कुमार सिंहको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमको दोस्रो सत्रमा प्रोफेसर राजेश खरात (पूर्व डिन, युनिभर्सिटी अफ मुम्बई) को अध्यक्षतामा भयो। उनले “पूर्वी शाक्य समुदायहरूमा नयाँ ऐतिहासिक तथ्य तथा समकालीन चुनौतीहरू” मा अन्तर्दृष्टि दिए। डा. मृणाल कान्ति चाक्मा (पूर्व निर्देशक, IBMR कोलकाता) ले “पूर्वी शाक्य समुदायको पुनरावलोकन: नयाँ ऐतिहासिक तथ्य तथा समकालीन चुनौतीहरू” विषयमा बोल्दै चाक्मा समुदायको इतिहास तथा वर्तमान दयनीय अवस्थालाई स्पष्ट पारे।
बीबीसी तथा रायटर्सका वरिष्ठ पत्रकार सुबीर भौमिकले “बङ्गलादेश सरकारद्वारा शाक्य वंशज चाक्मा समुदायमाथि चरमपन्थी राजनीतिक दमन” विषयमा बोल्दै बङ्गलादेशको कट्टर इस्लामको खतरा उजागर गरे।
चिया ब्रेक तथा चाक्मा समुदायको विगत र वर्तमान अवस्थाबारे फोटो प्रदर्शनीपछि तेस्रो सत्र प्रोफेसर चन्दन कुमारको अध्यक्षतामा सम्पन्न भयो। उनले विभिन्न शाक्य समुदायहरूका फरक दृष्टिकोण तथा अनुभवहरूबारे बोले।

नेपालका प्रतिनिधित्व गर्दे ,अनुसन्धानकर्ता तथा सामाजिक कार्यकर्ता परमानन्द शाक्यले “ढाई सहस्राब्दीभन्दा बढी समयदेखिको शाक्य डायस्पोराको विरासत” विषयमा प्रस्तुति राख्ने क्रममा उनले शाक्य तथा कोलिय वंशको उत्पत्ति तथा कोसलका राजा विरुद्धकको आक्रमणपछि शाक्यहरु एसियाभरि फैलावटबारे स्पष्ट पारे। वहाँले,नेपालमा शाक्य संस्कृति, गृहस्थ भिक्षु परम्परा तथा शिल्पकलाका निपुणता बारेमा बोल्नु हुदाँ सहभागीदर्शकहरू मन्त्रमुग्ध भएका थिए।
भारतका अनुसन्धानकर्ता तथा सामाजिक कार्यकर्ता जीवन्दीप मौर्य (सम्राट अशोक क्लब भारतमार्फत) ले “मौर्य शाक्य दृष्टिकोणबाट पुरानो शाक्य गणतन्त्रको परम्परा तथा रीतिरिवाज” विषयमा विस्तृत रूपमा बोले। भियतनामका शान्ति कार्यकर्ता भिक्षु वेन. डा. थाय ह्युएन डियु (Thay Huyen Dieu) ले शान्ति तथा सद्भावका लागि एकताको आह्वान गर्दै भने, “हामीले केवल कुरा मात्र नगरी कार्य गर्नुपर्छ।
हामी NATO (No Action – Talking Only) बाट बिग्रिएका छौं!” अन्तमा डा. मृणाल कान्ति चाक्माले धन्यवाद ज्ञापन गरे तथा भिक्षु-भिक्षुणीहरूलाई दान प्रदान भएको थियो।
ऐतिहासिकसम्मेलनले शाक्य वंशका वंशजहरू (विशेष गरी चाक्मा समुदाय) को एकता, सुरक्षा तथा बौद्ध परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ। सम्मेलनले बोधगयालाई ‘बौद्ध भ्याटिकन’ बनाउन भारत सरकार तथा अन्य बौद्ध राष्ट्रहरूसँग अपील पनि गरेको थियो।