
काठमाडौं । पूर्व विद्यार्थी समाज (ASNRSS), नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तारकेश्वर–११, नेपालटारको पहिलो साधारण सभा, विशिष्ट पूर्व विद्यार्थी सम्मान तथा वनभोज कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
विक्रम संवत् २०८१ सालमा पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्ने तथा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई अल्पकालीन तथा दीर्घकालीन योजनाअनुसार छात्रवृत्ति तथा पुरस्कारको व्यवस्था गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज दर्ता भई सञ्चालनमा आएको हो। सोही क्रममा तदर्थ समिति विघटन गरी पहिलो कार्यसमिति गठन गरिएको छ।
साधारण सभाबाट केही सदस्यहरूको हेरफेरसहित व्याच ५७ का श्री रामराजा ओझा अध्यक्ष पदमा सर्वसम्मत चयन भई २०८२–२०८५ कार्यकालका लागि १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। कार्यसमिति विभिन्न पेशा तथा फरक–फरक ब्याचबाट प्रतिनिधित्व हुने गरी गठन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चित्रवर ध्वज थापा रहनु भएको थियो। विशिष्ट अतिथिहरूमा भूतपूर्व शिक्षकहरू योगेन्द्र पौडेल, योगेन्द्र शाह र कान्छा महर्जन रहनु भएको थियो भने अतिथिहरूमा अर्जुन प्रसाद पराजुली र अजित जङ्ग पराक्रम को उपस्थिति रहेको थियो।
यस वर्षदेखि पूर्व विद्यार्थी समाज (ASNRSS) ले विशिष्ट पूर्व विद्यार्थी सम्मान प्रदान गर्ने परम्पराको सुरुवात गरेको छ। सो अवसरमा व्याच ४७ की पूर्व विद्यार्थी तथा माननीय न्यायाधीश श्री शर्मिला बिष्ट थापालाई समाजको नाम र प्रतिष्ठा बढाउन उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामराजा ओझाले संस्थाको मुख्य उद्देश्य पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्नु र उनीहरूबाट प्राप्त सहयोग विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा साथ सहयोग गर्नु नै रहेको स्पष्ट पार्नुभयो।
सो कार्यक्रममा २०० भन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमकै क्रममा अध्यक्ष श्री रामराजा ओझा , विशिष्ट अतिथि तथा अतिथिहरूले संयुक्त रूपमा पूर्व विद्यार्थी अङ्कित व्याचको अनावरण गर्नुका साथै तदर्थ समितिमा रही समाजलाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।






