काठमाडौं- छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो । सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो ।
टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।