काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको ती पुरस्कार निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा योगदानमा आधारित निवृत्तिभरण कार्यान्वयन, आर्थिक प्रशासन नियमावली संशोधन, २०६६ संशोधनको प्रस्तावलाई थप गृहकार्यसहित छिट्टै बस्ने प्राज्ञसभामा ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । उहाँले आवश्यक गुणस्तरीय रुपमा समयमा काम गर्ने प्रणाली स्थापित गर्न नाष्टका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति विद्या भट्टराईले सार्वजनिक खरिद ऐनबमोजिम नाष्टका खरिदसम्बन्धी प्रबन्ध गर्न ध्यानाकर्षण गराउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा दिलीप सुब्बाले आवश्यक गृहकार्य गरेर नियमावली संशोधनको प्रस्ताव ल्याइने बताउनुभयो ।