८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीबजार घट्टेकुलोमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको बाह्रौ श्रृङ्खला आज २०८१ भदौ २८ गते सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिएको आजको कार्यक्रममा अन्य छ जना प्रतिष्ठित कथाकारहरूले बिभिन्न कालखण्डमा प्रकाशित आआफ्ना कथाहरू वाचन गर्नुभएको थियो ।
दिवंगत स्रष्टा युद्धप्रसाद मिश्रको ’पुनर्मिलन’ शीर्षकको कथा शारदा मासिकको जेष्ठ १९९८ को अङ्कबाट आयोजक समितिका सदस्य पबित्रा अधिकारीले वाचन गर्नुभएको थियो ।
२०४० को दशकमा प्रकाशित दुइ जना स्रष्टाका कथा वाचन गरिएका थिए । कथाकारहरू मधुबन पौडेलले २०४१ साल असार ३१ गतेको गोरखापत्रमा प्रकाशित ’स्वदेश फर्कँदा’ र किशोर पहाडीले २०४८ बैशाखको गरिमामा प्रकाशित ’अर्धाङ्गिनी र सिपाही’ नामक रचनाहरु वाचन गर्नुभएको थियो । त्यसै गरी २०६० को दशकमा प्रकाशित दुइटा कथा कथाकारहरू मधुसूदनप्रसाद घिमिरेले ’पिउन साहेब’ २०६४ कात्तिकको मधुपर्कबाट र राशि (रामेश्वरसिंह) पाण्डे)ले ’निकाह’ शीर्षकको कथा २०६७ चैतको गरिमाबाट वाचन गर्नुभएको थियो । त्यस्तै, प्राप्त भएका २०७० को दशकका दुइटा कथा कथाकारहरू क्रमशः रमेशजङ्ग थापाले ’घरको ठेगाना’ २०७४ को मधुपर्कबाट र पवित्रा अधिकारीले ’सेवक’ नामक रचना आफ्नै कथासङ्ग्रह ’देह उत्सव’ (२०७४) बाट वाचन गर्नुभएको थियो । आफुले वाचन गर्न चाहेका प्रकाशित कथाहरू स्रष्टाले अग्रिममा दर्ता गराउनुपर्ने नियम छ ।
कार्यक्रमका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे संक्षिप्त प्रकाश पार्दै यस कार्यक्रमले अहिलेसम्म पाएको सफलतामा खुशी व्यक्त गर्नुभएको थियो । अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले बिभिन्न पुस्ताका कथाकारहरूलाई एकै स्थानमा राखेर फरकफरक दशकमा प्रकाशित कथा स्रष्टाकै स्वरमा वाचन गराउने गरिएकाले कुन कालखण्डमा केकस्ता विषयमा, केकस्ता भाषाशैलीमा कथाहरू लेखिए ती बारे कथामा रुचि हुने सबैले थाहा पाउने र पुस्तापुस्ता बीचमा परिचय र सुसम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कथाकार बाबा न्यौपाने, साहित्यिक पत्रकार शेषराज शिवाकोटी, स्रष्टा एवं सञ्चारकर्मी राजेश खनाल, कथाप्रेमीहरु डा वालचन्द्र मिश्र, हरिबोल आचार्य लगायतको रूपमा उपस्थिति थियो ।
आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गर्नुभएको थियो ।