समर्पण
मुरारीराज मिश्र
“कृपया,मलाई स्वीकार ।” पानीले याचना गर्यो ।
“जब मलाई तताउँछन्, तिमी त्यो ताप सहन सक्दैनौ । आफ्नो स्वार्थका लागि तिमीलाई संकटमा पार्न चाहन्न म ।” दूधको जवाफ थियोे ।
“मलाई अंगाल, म कुनै पनि कठिन अवस्थाका लागि तैयार छु ।” पानीले जिद्दी छोडेन ।
“एकपटक गहिरिएर सोच, मलाई तताउँदा उत्पन्न हुने तापले प्रतिक्षण घट्नु (सुक्नु) पर्छ ।” दूधले सचेत गरायो ।
“सबै स्वीकार छ, मेरो अस्तित्व रहुन्जेल हरेक आपतमा तिम्रो रक्षा गर्नेछु ।” पानी वचनबद्ध भयो ।
दुबै मिसिन्छन् । दूधले पानीलाई आफ्नो रंग र रुप दिएर आफूभित्र समाहित गर्छ ।
त्यही वचन पूरा गर्न, दूध तताउँदा आफू सुकेर पनि दुधको रक्षा गर्दैछ पानीले ।