
काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।
‘मुकाम रणमैदान’लाई परिश्रमपूर्वक खोजबिन, ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवं प्रभावमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्याए बापत ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।
यसैगरी प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय बैठकले गरेको छ । नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान’ गरे बापत प्रा.डा. यादवलाई जगदम्बा–श्री प्रदान गर्ने निर्णय भाएको पनि गुठीका अध्यक्ष कुन्द दिक्षितद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुवै पुरस्कारको राशि ४/ ४ लाख रुपैयाँ छ ।


