
कसको जीत ?
गोपालप्रसाद थपलिया पत्रकारीताको चर्चित नाम । यसैगरी थपलिया नेपाली साहित्यमा चारवटा विभिन्न विधाका पुस्तक र थुप्रै गीतका सर्जक हुन् ।
प्रस्तुत कसको जीत ? शिर्षक लघुकथा कृतिमा १६ वटा विषयगत विविधताका लघुकथाहरु अटाएका छन् । विशेषत यी लघुकथाहरु पत्रकारीता र राजनीतितिर परिलक्षित गरी लेखिएका छन् ।
उनी परिवर्तनलाई चाह गर्ने कथाकार हुन् । तसर्थ समाजका विकृति र विसंगतिलाई विषय बनाएका छन् । यति मात्र नभएर हाम्रा समाजका पारिवारीक जीवनमा आइपर्ने उतारचढाव पनि उनका लघुकथाका विषय हुन् ।
प्रगतिशिल विचारका अनुयायी उनका लघुकथामा राजनीतिक विचारको प्रभाव पनि प्रष्टै देखिन्छ । बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिलाई कथाहरुले उजागर गरेका छन् । यसमा वर्तमान राजनीतिक क्षेत्रमा आएका बेथितिहरु,मौलाउँदो भ्रष्टाचार,नेताहरुको चालचलन,शौखिन बानीब्यहोरा लगायत नेपाली राजनीतिक परिदृष्यलाई उनका लघुकथाहरुमा मज्जैले चित्रण गरिएको छ ।
यसैगरी बाध्यात्मक अनमेल विवाह र त्यसले पारेका असर ,विदेसिनेहरुका पीडा,बदलिँदो समाजको चित्र पनि लघुकथाहरुले टिपेका छन् ।
संवादात्मक शैलीमा कोरिएका लघुकथाहरुले पाठकलाई मज्जैले तान्छन् । सरलभाषाले उनका लघुकथामा प्राण भरेका छन् ।
कसको जीत ? लघुकथासंग्रहलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो ।
फेरिल
आदिवासी जनजाति सीमान्तकृत दरै जातिहरुको कथालाई विषयवस्तु बनाई उपन्यासकार माधव बिडारीले फेरिल नामक उपन्यास लेखेका छन् । राज्यको मूलधारबाट बाहिर रहेका आदिवासी दरैहरुको बारेमा लेखिएको यो पहिलो उपन्यास हो । फेरिल भनेको परिवर्तनलाई बुझाउँने शब्द हो ।
दरै समुदायको विभिन्न विषयवस्तुलाई उपन्यासको कथानकतामा ढालिएको छ । हुन् त स्वयं उपन्यासकारले दरैको जानकारी दिने मसिनो प्रयास र कल्पनाशिलताले भरिएर लेखिएको बताए पनि त्यो समुदायका धेरै कुराहरु यसमा आउँछन् । उनीहरुका रीतिरीवाज,चालचलन,कला संस्कार र संस्कृतिलाई कृतिले समेट्ने प्रयास गरेको छ । दरै समाजका तथ्यगत कुराहरु यस कृतिमा मनग्गै पढ्न पाइन्छ । दरै समुदायको मानिसहरुको बाल्यकाल,युवावस्था र बुढेसकालका कुराहरु समेत कृतिमा परेका छन् । अल्पसँख्यकको रुपमा रहेका दरैहरुको केही इतिहास पनि जानकारी दिन्छ उपन्यासले ।
यथार्थ र कल्पनाशीलताको घुलनले उपन्यास पठनीय बनेको छ । भाषाशैली सरल छ । सलल बगेको छ उपन्यास । मीठासपूर्ण भाषाले लयात्मक बनेको उपन्यासले पाठकको मन खिच्छ । माया प्रेम,पारिवारिक गन्थन,समाजको संकिर्णता,दरै समुदायमा भित्रिएका पहाडीयाहरु,विभिन्न गैरसरकारी संस्थाहरुले गरेको भुमिकाले ल्याएको समुदायको परिवर्तन,एनजिओकर्मीसँगको दरै समुदायकी युवतीको प्रेम प्रसँग,ती युवतीको मादक मनोवेगपूर्ण सम्बादहरुले पाठकलाई तान्
समग्र अन्य जातिसँगै दरै जातिलाई उपन्यासको कथाको मुख्य पात्र बनाइएको यो उपन्यासले दरै समुदायका लुकेका कुराहरु पनि उजागर गरेको छ । राजनीतिक परिवर्तनको दरै समुदायमा परेको असर,द्धन्दको कुरा ,राजनीति सबैकुुराहरुले भरिएको छ उपन्यास । साहित्यका कुरा छन् ,कविताको भाव छ । विचविचमा प्रेमिल पात्रहरुका कथा छन् ।
उपन्यास पाठकलाई तान्नसक्ने सामाथ्र्य राख्छ । फेरिललाई स्रस्टालय बुक्स एण्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।
राराको डिलमा
प्रा.डा.कपिल लामिछाने नेपाली साहित्यमा नयाँ नाम होइन । करिव पाँच दर्ज नेपाली भाषा,साहित्यका विविध कृतिहरु प्रकाशित गरिसकेका लामिछानेको पछिल्लो कृति आएको छ राराको डिलमा नियात्रासँग्रह । लालित्यपूर्ण र मीठासपूर्ण भाषाशैलीमा लेखिएको यो कृतिमा नेपालका सुन्दरतम प्राकृतिक दृष्यहरुको रमणीय बर्णन छ । नेपाल र भारत तथा चीनका विभिन्न १९ थान नियात्राहरु यस कृतिमा रहेका छन् ।
सुन्दर बिम्बात्मक शिर्षकृत राराको डिलमा । अनि अरु नियात्रा भन्दा फरक ढंगले प्रत्येक नियात्रामा दुई समीक्षकको संक्षिप्त टिप्पणी समेत समावेश गरी नियात्रा आएको छ । यसले अलग पहिचान गराउँछ ।
नियात्राहरुमा सपाट स्थानविशेषको बर्णनमात्र छैन् नीजात्मकताको अनुभूतिलाई सुन्दर लेपन लगाइएको छ । भावनाहरु अभिव्यक्त गरिएको छ । विषयबस्तुमा अटाइएको छ । वर्णनात्मक छ । तथ्यपरकताले भिजाइएको छ । गतिमयता भरिएको छ । लयमा लयबद्ध छन् नियात्रा ।
सिद्धान्तका फ्रेममा सुन्दर र सुलुलित भएर बगेका छन् नियात्राहरु । उनका हर यात्राहरु आकष्मिक देखिएका छन् । उनका नियात्राले हामीलाई संगै यात्रा गराउँछन् । यात्रा गरेका स्थलहरुका ऐतिहासिकता,प्राकृतिक सुन्दरता,महत्व लगायतका कुराहरु जानकारी गराउँछन् । सुस्वादु भाषाशैली नियात्रामा प्राण भर्छन् ।पाठकलाई कौतुहलता भराउँछन् ।
राराको डिलमा भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।






