कविता
घनश्याम अस्तित्व
घनश्याम अस्तित्व
बुख्याँचाहरू
चराहरूबाट हैरान
एक कृषक
आफ्नै झल्को दिने
बुख्याँचाहरू उभ्याउँछ
अन्नका दानाहरू बचाउन –
खेतका आलीहरूमा
घुम्दै आउछन्
भोकले लखेटिएका –
चराहरूको बथान
सोंच्छन्, माटो, हावा र पानी
हाम्रो पनि त हो
र चराका नाइकेहरू
बसेर एकमतले पहिलो निर्णय
गर्छन्, बारबार हामीलाई
भूतले झैं तर्साएर
हाम्रो भोकोपेटमा
लात हान्ने
यी बुख्याँचाहरूलाई
फाल्नुपर्छ उखेलेर
हाम्रै वरपर
पनि त छन्
बुख्याँचाहरू
र उनीहरूकै मुठ्ठीमा छ यो
देश
तर चराहरू जस्तै
विवेकशील कहिले हुने
होला हामीहरू?