
काठमाडौं।आज लक्ष्मीपूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती मनाइँदैछ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।
वाल्यकालका कम उमेरमा नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
साहित्यमार्फत विश्वजगतमा नेपाललाई चिनाउँने श्रेय पनि देवकोटालाई जान्छ ।नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ।
उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
नेपाली भाषा साहित्यमा सबैभन्दा बढी प्रकाशित भएको कृति मुनामदन हो ।
विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित छ।
लेखन क्षमताका अदुभुत व्यक्तित्व महाकविले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए ।
उनी वि.सं.२०१६ सालमा शिक्षामन्त्री पनि भएका थिए । देवकोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए । नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गर्ने श्रेय पनि उनकै हो ।
यस्ता नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।