कविता
संयोग
राधा कार्की
लामो वर्षात्पछि
उघ्रेको थियो आकाश
निलो रङ्गले पोतिएको ऊ
दौरा–सुरुवाल र टोपीमा
ठाँटिएको युवक जस्तै
देखिन्थ्यो, शान्त र सुन्दर ।
चौबन्दी फरियामा सजिएर
धर्ती पनि
बैँसालु गीत गाइरहेकी थिइन् !
भर्खर तप्केको पानीमा
खेल्दै थिए फूलहरू लुकामारी
मनहरू छुँदै
वारिपारि गरिरहेको थियो शीतल पवन
बादलका झुण्डहरू
पर्खिरहेका थिए ओठमा मुस्कान बोकेर
ठिक त्यहीबेला हो
मभित्र तिमी समाहित भएका !