काठमाडौं।शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवस र प्रतिष्ठानले प्रकाशित गरेको ‘शंकर सन्दर्भ’ पुस्तकको परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भयो ।
राजधानीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गर्दै भने-‘मेरो पिताजीको नजिकको मित्र शंकर लामिछाने हुनुहुन्थ्यो । कथा र निबन्ध के भन्ने छुट्याउन गार्हो छ । आजको घोस्ट राइटरको रूपमा हुनु हुन्थ्यो । अब शंकर को भनेर खोज्नुपर्छ, को हो कुमुदिनी भनेर खोज्नु पर्छ। भूमिका सहित हाइकु शिरीषको फूलमा रहेको छ । त्यस्तो लेख्न सक्ने कोही छ रु माया नं ६५३ कथा पढे पछि शंकर लामिछानेलाई चिन्न सकिन्छ ।’
वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदनले’ भने- ‘नेपाली निबन्धका ती धरोहर हुन् जसलाई अन्तर्राष्ट्रिय साहित्यमा पुर्याइयो भने नेपाली साहित्यको ओज र गरिमा बढ्ने थियोे, सगरमाथा र बुद्ध मात्रै होइन शंकरका निबन्ध र साहित्यबाट नेपाल चिनिन सक्छ । एकेडेमीले यस्ता धरोहरलाई बिर्सेको छ ।’
वरिष्ठ समालोचक प्रमोद प्रधानले भने -‘जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं । मैले निबन्ध लेख्न बस्दा गोधुली संसार, एबस्ट्याक चिन्तन प्याज, ताना शर्माको बेलायत तिर बरालिदा आउँछ । जस्ले प्रष्ट पहिचान बोकेर हिंडेको हुन्छ, ती साहित्यकारलाई सम्झन्छौं । बीसजना साहित्यकारभित्र शंकर लामिछाने पर्नु हुन्छ । लामिछानेको अन्तर्वार्ताको उत्कृष्ट संग्रह विम्बप्रतिविम्ब हो । हामी अहिले रहरमा साहित्यकार भएका छौं, लामिछाने जिम्मेवार भएर लेखेका छन् । स्पष्ट र टाढैबाट देखिने नाम शंकर लामिछाने हुन् ।हाइकु नेपालमा भित्र्याउने लेखकका रुपमा पनि चिन्दछौं ।’
समालोचक प्रा.डा.गोविन्दमान सिंह कार्कीले भने – ‘पारिजातको सिरिसको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको चर्चा सुनेको छु।’

यसैगरी शंकर लामिछाने प्रतिष्ठानका महासचिव चर्चित नियात्राकार डा.दामोदर पुडासैनी किशोर,कवि एवम् पत्रकार भुपेन्द्र खड्कालगायतले स्व.लामिछानेको व्यक्तित्वको सन्दर्भमा आ आफ्नो धारणा राखे ।
यस अघि प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शंकर लामिछानेका निबन्धहरुको अङ्ग्रेजी अनुवादको काम सकिएको जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानकी संरक्षक सविता ढुंगानाले सभापतित्व गरेको कार्यक्रमको सहजीकरण यादव भट्टराईले गरे । वरिष्ठ आख्यानकार तथा प्रतिष्ठानकी कोषाध्यक्ष पद्मावती सिंहले स्वागत गरिन ।
शंकर सन्दर्भ ग्रन्थको सम्पादन पारशप्रकाश नेपालले गरेका हुन्।