
काठमाडौं । नेपाली कलासाहित्यको उन्नयनमा बितेको १८ वर्षदेखि क्रियाशील रहँदै आएको साहित्यिक संस्था ‘नेपाली कलासाहित्य डट कम प्रतिष्ठान’ले विशेष कार्यक्रम गर्दै ‘शान्ति कविता गोष्ठी’ सम्पन्न गरेको छ ।
गोष्ठीमा कविहरू डा. नवराज लम्साल, लक्ष्मी माली, लक्ष्मण गाम्नागे, बिन्दु शर्मा, फूलमान वल, राधिका कल्पित, अमरदीप सुनुवार, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, सुभाष सजल, रञ्जना निरौलाच, विश्व सिग्देल, प्रदीप भट्टराई, तारा सुनुवार र कपिल अञ्जानले आआफ्ना कविता वाचन गरे ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवस, संस्थाका संरक्षक कवि डा. विमल कोइराला, अध्यक्ष कवि मोमिला, एनएलजीआईका प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तलगायतले ‘कलाश्री’ साहित्य वार्षिक अंकको विमोचन गरे ।
कार्यक्रममा कथाकार गीतकार राजुबाबु श्रेष्ठलाई ‘एनएलजी कलाश्री सिर्जना सम्मान’बाट नगद राशिसहित सम्मानित गरियो । उक्त सम्मान कलाश्री साहित्य वार्षिकमा प्रकाशित रचनाहरूमध्ये एक विशेष रचनाका स्रष्टालाई प्रदान गरिँदै आइएको छ ।






