काठमाडौं। हाम्रो लघुकथा केन्द्र,नेपालले शनिबार दक्षिणकाली नगरपालिकामा एक विशेष कार्यक्रमको आयोजना गरी लघुकथा वाचन तथा निवर्तमान कार्यसमितिका पदाधिकारीहरूको बिदाइ गरेको छ।
हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत रहेका थिए।
अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरूमा स्रष्टा किशोर पहाडी, केन्द्रकी निवर्तमान अध्यक्ष लता केसी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ सेती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेत, दामोदर अधिकारी तथा सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसी लगायत अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियोे।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व मोहनबहादुर बस्नेतले दक्षिणकाली नगरपालिकाभित्र वर्षको ५-६ वटा साहित्यिक कार्यक्रम हुँदै आएकोमा खुशी व्यक्त गर्दै धार्मिक, सांस्कृतिक तथा कृषि क्षेत्रमा दक्षिणकाली नगरपालिका अगाडि रहेको बताए।
स्रष्टा किशोर पहाडीको जन्मथलो समेत रहेको दक्षिणकाली नगरपालिकामा साहित्यिक गतिविधि बढेकोमा सन्तोष व्यक्त गरे।
सुसेली साहित्यिक प्रतिष्ठानले नयाँ पुस्तालाई लेखनकार्यमा जागरुकता ल्याएको र यसको श्रेय डा.शेखरकुमार श्रेष्ठ र रामराजा केसीलाई दिनुपर्ने बताए।
साहित्यिक कार्यक्रमका लागि नगरपालिका सधैँ सहयोग गर्न तत्पर रहेको समेत उनले बताए।
विशिष्ट आमन्त्रित व्यक्तित्व किशोर पहाडीले कवि हरिभक्त कटुवालको स्मरण गर्दै बान्की गोजी पत्रिकामा छापिने गरेको लघुकथा, हवाईपत्र र पोष्टकार्डमा छापिने लघुकथाको आफ्नै महत्त्व थियो भनेर इतिहास कोट्याएका थिए।
कार्यक्रमका सभापति हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. श्रेष्ठले निवर्तमान पदाधिकारीहरूलाई भावपूर्ण बिदाइको मन्तव्य राख्दै लघुकथाको उन्ननयनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
दक्षिणकाली नगरपालिकाको धार्मिक, सांस्कृतिक, कृषि तथा पर्यटकीय महत्त्वबारे प्रकाश पार्दै डा.श्रेष्ठले कवि कलाकारहरूलाई स्थलगत भ्रमण गराएर रचना सृजना गराउने सोच रहेको जानकारी दिए । उनले आगामी चैत ७ गते लघुकथा केन्द्र सम्मान कार्यक्रम गरिने योजना रहेको पनि बताए ।
कार्यक्रमका संयोजक तथा कोषाध्यक्ष मनीषकुमार शर्माले कार्यक्रमका बारेमा संक्षेपमा प्रकाश पार्दै जुन ठाउँमा संस्थाको जन्म भएको हो त्यहीँबाट शुरू गरेर विभिन्न अन्य ठाउँमा पनि कार्यक्रम गरिने जानकारी गराएका थिए।
कार्यक्रममा २३ जना कथाकारहरूबाट लघुकथा वाचन गरे ।