सपनीमा देवीप्रसाद (ठुल्दाइ)
उद्धव सापकोटा
सदा झैं बिहानी हुने क्रम रोकिएन आज पनि । मेरो दिमाग भने तीनसय साठ्ठी डिग्रीमा घुमीरहेको छ । त्यो रात देखेको एउटै सपनाले । कहिले कहि देखेको कुनै कुनै सपनालाई बिर्सन खोज्दा पनि नसकिदो रहेछ । बिर्सु भन्यो त्यहि आउछ बल्झेर यि आंखामा वरिपरि । फेरि आफूलाई खासमा प्यारो लागेको मान्छे भएर पो हो कि ? भुल्न औधी गाह्रो भयो ।
हामी दुई दाजुभाइबिचको उमेर एक दशक र तीनचार बर्षजतिको फरक होला । घरको कान्छो छोरो म । उनले मलाई सधै कान्छा भनेर बोलाउँथे । यसरी कान्छा भनेर बोलाउँदा मलाई औधी राम्रो लाग्थ्यो । हाम्रो घरपरिवारलाई समस्या परेको अवस्थामा हरेक प्रकारको सहयोग गरेको पाउथे मैले । हाम्रा बाआमालाई पनि निकै प्यारो लाग्थे उनि । बाआमाले ठुले भनेर बोलाउथें उनलाई । उनले पनि हाम्रा बाआमालाई धेरै माया गर्थे । उनका बाआमा दुबै छोटो उमेरमा परलोक भएका थिए ।
०००
ठुल्दाईका जीवनसंघर्षका कथा, व्यथा निकै मार्मिक र प्रेरणादायी छन हाम्रा लागि । हामीहरुले बालावयदेखि नै उनिसंगसंगै बिताएका अविस्मरणीय क्षणहरु छन । घरगोठ र मेलापातमा सधैसगैं हुन्थ्यौं हामी । २०३६ साल अगाडि हाम्रो घर तत्कालीन रयाले गाउँ पंचायतको वडा नं २ ओखे्रडाडामा थियो । अनि उनको घर सोही गाउँ पंचायतको वडा नं.१ डाडाँगाउँमा थियो । हाम्रो गोठ उनको घरसंगै डाडाँगाउँमा थियो । उनको गोठ पहिला अलि माथि सानथुम्कीडाडाँमा थियो । पछि हाम्रो घर नजिकैको आख्रेडाडाँको केहि माथि भिरालो पाखो भित्तामा खारेर दाइले गोठ बनाए । गोठमा जान मोडभएको बाटो थियो । पछि २०३५-०३६ सालतिर बाले पनि उनको घरसगैं डाडाँगाउँमा घर बनाए । हाम्रा यी घर र गोठहरुबिचको दुरी यस्तै २०-२५ मिनेटको तलमाथि थियो ।
बिहानीको मिरमिरे हुनुभन्दा अगाबै ठुल्दाइ तलघरबाट हिडेर गोठमा पुग्थे । उज्यालो हुँदा गोठको सबै धन्दा सकिसकेका हुन्थे । ठुल्दाइका गोठमा दुई तीनवटा लैना भैसी हुन्थे । गोठमा जान अलिकता ठाडो भिरालो र साँघुरो बाटो थियो । साँघुरो बाटोका कारण कति भैसीका साना पाडा र ठुलै भैसी पनि त्यहाँबाट लड्थे आलमा लैजाँदा । त्यसरी लडेर तलपुगेको भैसी पनि उठेर हिडेर आउदा हुन्थ्यौ हामीहरु । त्यतिबेला जस्का भैसी उस्का बन जस्का छोरा उस्का धन भन्ने यो उखान खुबै चलेको थियो । किसानले अलिकति दुईहात जोड्ने भनेकै पशुपालन र खेतीपातीबाट नै थियो त्यतिबेला ।
ठुलाबा कहिले स्वर्गवास भएका हुन हामीलाई पत्तो छैन । ठुल्दाइ आठ वर्षका थिए रे । हामीहरु भन्ट्याङ भुन्टुङ थियौ । स्कुल जाँदआउँदा फलैचामा आमोई बसेकी हुन्थिन । ति आमोई पनि धेरै बृद्धा भई सकेकी थिईन । आँखां राम्रोसंग देख्दिनथिन र कान पनि राम्रो सुन्दिनथिन । त्यतिबेला गाउँमा त्यस्ता आमोईहरु अरु पनि धेरै थिए । हामीहरु स्कुलबाट फर्कदा कहिलेकहि मकैं र भट्टमास दिन्थिन । स्कुलबाट फर्कदा पेटमा भोकको आगो बलिरहेको हुन्थ्यो । भोकाएको बेलामा त्यहि मकै पनि अमृत समान हुन्थ्यो ।
०००
ठुल्दाइका हरेक दिनहरु खेती किसानीमा नै व्यस्त हुन्थे । उनले गरेको खेती किसानी गाउँमा अरुले गरेको भन्दा अब्बल हुनुपथ्र्यो ।
यस्तै भदौंको महिना एक दिनको कुरा हो । हाम्रो घरको आँगन मुन्तिर बारीको डिलमा एउटा ठुलो नास्पातीको रुख थियो । ठुल्दाइ नास्पाती खान रुखमा चढेर टिप्न थाले । जस्तो शिव शर्मा ब्रम्हाण फलफूल टिप्न रुखमा चढे जस्तै । दाइले हामी केटाकेटीहरुलार्ई पनि नास्पाती खान दिन्छन भन्ने आशमा फेदमा बसेका थियौं । दाइले टेकेको हाँगा एक्कासी कड्केको आवाज आयो । यसरी रुखको हाँगा भांचिएको देख्दा हामीहरु डरायौं । धन्न दाइले माथिको हाँगामा समाएका रहेछन । ठुल्दाइ बालबाल तल खसेनन् ।
ठुुल्दाइको दिनचर्या आफ्नै लयमा उकाली ओराली गर्दै खेतीपातीमा बितिरहेको थियो । तर कसलाइ के थाहा जीन्दगीले कुन मोड लिन्छ भनेर ! ठुल्दाइको जीवनमा एउटा ठुलो बज्रपात पर्यो । एक दिन साँंझ ठुलीभाउजु हराईन । गाउँका दाजुभाइहरु बन पाखापखेरो यत्रतत्र भाउजुलाई खोज्न थाले । त्यो निस्ठुरी साँझ रहेछ । आखिरीमा खोज्दैजाँदा भाउजुले आफ्नै गोठको धुरीबलोमा पासो लगाएर आत्महत्या गरिछन् । त्यो देख्ने बित्तिकै दाइ छोरालाई काखमा राखेर बिलौना गरी रुन लागे । ठुलीभाउजु पट्टीबाट ठुल्दाइका छोरा र छोरी दुई सन्तान थिए । छोरी त काखे बालक नै थिई । त्यो दृश्य देखेर हामी केटाकेटीका आँखामा पनि आंसु टिलपिलाए ।
हिउँद, बर्षा हुदै समय आफ्नै गतिमा चल्दै गयो । उनको भर्खरको उमेर छ । अव जीवन निर्वाह गर्न बिवाह गर्नुपर्छ । गाउघरमा ठुलाबडाले सल्लाह दिन थाले । ठुल्दाइ दोस्रो बिवाह गर्न तयार भए । ठुल्दाइको बिवाहमा हामी पनि बतासे डाँंडामा जन्त गयौ । बारीका पाटामा बसेर टपरीमा जन्ते भतेर खाएको याद अझै ताजा छ । अनि बेहुलाले बेहुलीलाई ठाउँसार्ने बेलामा सारी चिप्लिएर बेहुली लड्दा जग्गेमा बसेका सबै हासेका थिए । त्यो समयको बालापन मेरो अहिले आएर ताजा भईदिन्छ ।
समयक्रमसगै ठुल्दाइको दाम्पत्य जीवनरुपी डु¨ा चल्न शुरु हुन्छ । बिवाह पछि ठुल्दाइको दैनिक जीवन सामान्य हुदै जान्छ । यस्तै त हो संसार, जति उमेर लेखेर यो पृथ्वीमा आएको छ मानिस त्यति बाँच्ने हो । मानिसको जन्म, बिवाह, मृत्यु पनि लेखेको हुन्छ रे भन्छन । जो जाने गइसकेपछि त्यसको पिरचिन्ता लिएर पनि त जीवनको रथ चल्दैन ।
०००
जीन्दगीलाई एउटा लयमा चलाउन बिभिन्न काम गर्नुपर्छ । आर्थिक स्थिति राम्रो बनाउन हर प्रयास गर्नुपर्छ । त्यहि शिलशिलामा ठुल्दाइ भैसीको व्यापार गर्न थाले । यो व्यापार उनलाई फाप्यो पनि । यो व्यापार गर्दै जाँदा त गाउँमा भैसी व्यापारी ठुले भने पछि सबैले चिन्न थाले । उनको नाम भैसी व्यापारीमा कहलिन थाल्यो । उनले भैसी किनेर गोठमा आईपुग्दा किन्नेको लर्को लागिसकेको हुन्थ्यो । उनले जति मोल राखे पनि भैसी बिक्री हुन्थ्यो । उनले किनेर ल्याएका भैसी जस्तो भएपनि गाण्डवी हुन्थे । गाउँघरमा अरुले किनेर ल्याएका भैसी सबै ट्वाके हुन्थे । ति ट्वाके भैसी बिक्री गर्न हम्मेहम्मे हुन्थ्यो अरुलाई ।
ललितपुरको ईमाडोलमा मैले घर बनाएको थिए । मैले बनाएको घरमा ठुल्दाइको आँखा परेको रहेछ । हुन त मैले बनाएको घर नजिकै ठुल्दाइको पनि एक तले घर थियो । जीन्दगीलाई अगाडि बढाउदै लैजादा आर्थिक हिसावले त्यो घर अड्याउन सक्ने अवस्था रहेन मेरो । म त्यो घर बिकी्र गर्ने निष्कर्षमा पुगे । २०७१ साल भदौ १३ गते हाम्रा बा परलोक भए । हामी तीनभाइ गाउँकै घरमा किरिया बसेका थियौं । बाको तेह्र दिनको कामपछि त्यो घर किन्ने बिचार गरेर ठुल्दाइ हाम्रो घरमा सल्लाह गर्न कान्छो छोरो लिएर आए । घर जग्गा र नगद दिने कुरा गर्दा पाँच लाखको कुरा मिलेन । भतिज र ठुल्दाइ उठेर हिडे । के सोचेर हो फेरि फर्किएर आए । म छुट्टै पाँचलाख हाल्छु घर दे कान्छा भने । दाइहरुसंग सल्लाह गरेर हामीले कुरा मिलायौं । म त्यहि बेचेको घरमा बसिरहेको थिए । मैले सट्टामा लिएको ठुल्दाइको घरमा दुईतला थपी सम्पन्न गर्नै लागेको थिए ।
सोचे जस्तो हुन्न जीवन भने जस्तै २०७२ साल भदौ १२ गते बिनासकारी भुकम्प आयो । गाउँमा भएका सबैका घरहरु बस्नै नमिल्ने गरि ध्वस्त बनायो । हाम्रो घरको त नामो निसान नै थिएन । ठुल्दाइको घर भने एकतलो भत्काएर बस्नसम्म मिल्ने थियो । दाइ दोधारमा थिए । ईमाडोल घरमा आउनु कि नआउनु भएका थिए । मैले दोधार नगर दाइ आउनु म घर छोडिदिन्छु भनें पछि उनिहरुको परिवार ईमाडोल आयो ।
ठुल्दाइ थिए इमान र जमानमा पक्का । हानेको गोली जस्तै बोलेको बोली उनि फेर्दैनथे । यो घर नकिन भनेर कतिले उचाले, उचाले तर दाइले इमान छोडेनन् । दाइ ईमाडोल आए । यहाँ आए पछि पनि वरपर छरछिमेकमा प्यारा नै भए उनि । उनि गाउँदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । ईमाडोल आएपछि पनि उनले यहि पार्टीमा निरन्तरता दिईरहे । एमालेको पक्का कार्यकर्ता थिए । २०७४ सालको स्थानीय चुनावमा एमालेको झण्डा बोकेर अगाडि हिड्ने उनी नै थिए । सबैका देवी दाइ भएर ।
दाइले गाउँ नजिकै कुशादेवी, थापागाउँमा मुलबाटोमा एकटुक्रा जमीन किनेका थिए । त्यो यस्तै २०६६-०६७ तिरको कुरा होला । त्यो जग्गा किने पछाडि बाटोको मापदण्ड आयो । सेन्टरबाट २५ मिटर छोड्नु पर्ने । त्यो जग्गाको ठुलो चिन्ता थियो ठुल्दाइलाई । हामीसंग पनि त्यहि चिन्ता प्रकट गर्थे ।
एक दिन त्यो जग्गा किन्नलाई कसैले बोलाएछ । दाइ ईमाडोलबाट जग्गा देखाउन गएछन । त्यहि दिन दाइलाई प्रेसरले हानेछ । दाइ बेहोस भएछन । भतिजले तुरुन्त धुलिखेल अस्पताल पुर्यायो । दाइलाई आईसीयुमा राख्नु पर्यो । एक पटक म उनलाई भेट्न धुलिखेल अस्पताल गए । मलाई ठिक होला त कान्छो भनेर सोधे । मैले ठिक हुन्छ दाई पिर नगर्नु । तिम्लाई ठिक भएपछि म गाडी लिएर लिन आउछु भने । एक दुई दिन पछाडि फेरि अनलाईनमा कुरा भयो । त्यो दिन मलाई लिन आउन कान्छो भने गुनासो गरे । तिम्लाई सञ्चो भएपछि म आउँछु दाइ भने । भोली पल्ट त दाइले यो धराधाम छोडेछन । भतिजले सबैलाई खवर गर्यो । यो खवर पाउँदा हामीहरु धेरै दुखित भयौ । दैवको लिला यस्तै हो आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दै न त्यो । भाउजुलाई ढाँटेर घाटसम्म पुर्याइयो । दाइको दाहासंस्कार कुशादेवी त्रिबेणीघाटमा गरियो ।
ठुल्दाइले यो धराधाम छोडेको पनि यस्तै दुईतीन बर्ष बितिसक्यो । यहि फागुण महिनाको एउटा रातमा मैलेठुल्दाइलाई सपनामा देखे । दाइ गाउँको गोठको ठोकाबाट निस्किएर टिमिक टिमिक गर्दै डाँडासम्म पुगेर फर्किए र त्यहि गोठमा पुगे । दाइले पहिला लगाउने गरेका सेतो कमिज सुरुवाल, कालो स्टकोटमा ढाका टोपी लगाएका थिए । उनको हसिलो मुहार थियो । फेरि खैरो कमिज सुरुवालमा कालो स्टकोट लगाएर हसिलो मुद्रामा पहिलेकै जसरी हिडेर आए अनि फर्किए । त्यहि स्थानमा । म भने त्यहि दाहिना पट्टीको हात्तीपाईलेको रुखमा समातेर बसिरहेको छु ।ठुल्दाइ आए अब बोलाउँछन् भन्दो रहेछु । तर बोलाएनन् उनले । सपना दिमागमा ताजै छ ।
म बिहान उठे । उनलाई ३६ अन्जुली पानी दिए । पछि यो कुरा परिवारलाई पनि सुनाए । अहिले पनि त्यो सपनाको झझल्को आईरहन्छ । आखिरमा के संकेत होला त ? यो मनभित्र कता कता सम्झना आईरहन्छ । हार्दिक श्रद्धासुमन ठुल्दाइ ! तिम्रो बैकुण्ठमा बासहोस ।