अनुभूति
राजदेविको राज
विजयभक्त श्रेष्ठ
म धुलिखेल अफिसबाट घर जाने तरखरमा थिएँ । बाइक निकाल्दै थिएँ । कार आएको देखेर रोकिएँ । न्यायाधिशज्यु आफैले उहाँको सवारी साधन चलाउनुभएको रहेछ । नमस्कार श्रीमान भने । नमस्ते भन्नुहुँदै ब्रेक लगाएर कार रोक्दै झ्यालबाट सोध्नुभयो-‘ बिजयजीको गाईको नाम के हो रे ?’
‘राजदेवी’मैले भने ।
उहाँले ‘ए राजदेवी !’ नाम राम्रो छ ।’ भन्नुभयो ।
मैले राजदेविको छोरी पनि छ बाछी तिनको नाम राजश्री राखिदिएको छु श्रीमान भनेर पनि सुनाएँ । उहाँले मिठो मुस्कानसहित कार अघि बढाउनुभयो । मेरो र श्रीमानका विचको कुराकानी सुनिरहनु भएका सुरक्षाकर्मी मित्र पनि मुस्कुराउनु भयो । मपनि खुशीले गद्गगद् ।
श्रीमानले पनि मेरो फेसबुक टिकटक हेर्नुदेख्नु भएको रहेछ जहाँ राजदेविसँगका धेरै फोटा भिडियोहरु पोष्ट्याएको छु ।
मेरा वकिल साथीहरुले पनि सोध्ने गर्नु हुन्छ राजदेविको के छ खवर भनेर । घरपरिवार, सन्तान ,कृषि पेशा ,व्यवसाय के कसो छ भनेर सोध्नेभन्दा राजदेविकै बारेमा सोध्नुहुने साथीहरु धेरै हुनुहुन्छ । अनि मपनि धाराप्रवाह वर्णन सुनाउँन पाउँदा अत्यन्त खुशी । विहान सवेरै उठी पिठो पानी खुवाइ दुध दुहुने डेरीमा दुध लिएर जाने फर्की आइ राजदेवि र राजश्रीलाई बाहिर घाममा निकाल्ने, केहिबेर हिँड्ने भकारो सोर्ने सफा गर्ने, नुहाउने लुगा धुने आदि गर्दागर्दै विहानको समय सहजै व्यतित हुन्छन् । कहिलेकाँही घाँसको भारी लिनजाने मेलमा अन्नका भारीहरु लिएर जाने गरिन्छ । लगभग मेरो हरेक विहान यसरी नै वित्छ ।

दिउँसोको कार्यालय समयावधि अदालत अफिस बारमा वित्छ । कानुन व्यवसायी मित्रहरु, सेवाग्राही,कर्मचारी सुरक्षाकर्मी र क्यान्टिन पसलका व्यक्तिहरुसँगको कामकुरा र कुराकानी दौडधुपमा दिन वितेको पत्तै हुन्न । केहि गतिविधि भएन भने छिटै घर पुगुँ र राजदेविको सेवामा लागुँ भन्ने मनमा हुन्छ । हो बेलुकी घर पुग्नासाथ कपडा फेरेर राजदेविकै समिप भैहाल्छु । दुध दुहुने सफा गर्ने अनि इभिनिङ्गवाक सम्झदै टहल्न जाने पर भाइरल रोडसम्म । घाँस, पराल, ढोड, पीठो ,भुसा, दाना र बेलाबेलामा खोप ,दवाई तथा शक्तिवर्दक तत्वहरुको समुचित व्यवस्थापनका लागि सदैव सजग सचेत र सतर्क रहने बानी नै परिसकेको छ । भान्छामा के छ छैन् त्यता त्यति ध्यान हुन्न तर राजदेविको खुराकका लागि म सधै चिन्तित रहन्छु ।
यसरि विहान बेलुकी राजदेविको साथसेवामा सहजै समय मात्र व्यतित भइरहेको हुँदैन् स्वस्थ तन्दुरुस्त, खुशी र सन्तुष्टि पनि अनुभुति गरिरहेको हुन्छु । गाई हाम्रो पशुधन भनेर पढेको थिएँ सानामा । पछि गौमाता हुन्, लक्ष्मीमाता हुन् भनेर पनि देखें बुझेँ । पुजा गर्ने र ढोग्ने पनि गरे । अनि अझै पछि गएर आयआर्जनको श्रोत खेतीपातीको लागि आवश्यक प्राङ्गारिक मलको श्रोत भनेर नि बुझेँ । स्वास्थ्य शरीरकालागि चाहिने पौष्टिकतत्वको श्रोत भनेर नि बुझेँ। सनातन हिन्दुधर्ममा यस्को महत्व र भूमिका अहम् रहेको विविध उक्ति र प्रसङ्गहरु सुनेको छु । सबै देविदेवताको बासस्थान हो गाई ।कतिपयले त त्यही भएर कहिँकतै धाउनुपर्दैन रे धर्मका लागि गौसेवाबाटै पुण्य मिल्छ रे ! पनि भने । गाई एक विशेषता अनेक । फाइदा अनेक काइदा अनेक । सोच अनेक समझ अनेक । भोगाइ अनेक बुझाइ अनेक । भन्छन् अनेक सुनाइ अनेक ।
एक पटक फेसवुकमा पोष्ट गरेको थिएँ :
प्रश्नः ‘गाई पालेको छ हो?’
उत्तरः ‘गाईले चाहि पालेको छ म र मेरो परिवारलाई ।’
प्रश्नः ‘कसरी ?’
उत्तरः ‘काम माम दाम र स्वास्थ्यमा इनाम पनि पाईरहेका छौं । ‘
यस् पोष्टमा धेरै राम्राराम्रा टिप्पणीहरु आएका थिए । लिने कसरी भन्ने हो जसरी आधा भरिएको गिलास भन्ने कि आधा रित्तो । आफुले गरेको कामप्रति प्रेमभाव भयो भने सन्तोष मिल्छ अन्यथा दुःख । हरेक जीवका आआफ्नो जीवन हुन्छ । हामीले हो फरक छुट्याउने सृष्टिकर्ताका सामु सबै जीव समान हुन् । मपाईत्व गर्ने स्वघोषित सर्वश्रेष्ठ मानवजातीले नै हो । धरती उही साझा हो । हावा पानी उही हो साझा हो । सेवा र श्रमले श्रृँगार्ने न हो जीवन र जगत । तौरतरिका र रोजाइ आआफ्नो खाले हुने न हो ।
मेरो राजदेवि सेवाका सम्बन्धमा ८ वर्षकी छोरी जयाश्रिले लेखेकी थिइन् -‘यदि म अर्को जुनीमा गाइ भएर जन्मिएँ भने ठुलोबुवा गाईको मालिक होस् ।’
छुट्टीमा आएकी छोरीलाई होमवर्क दिएको थिएँ केहि लेख्नु म भरे हेर्छु भनेर अफिस लागेको थिएँ । साँझको खाना खाइवरी टिभी हेरेर बसेको थिएँ ।ठुलोबुवा लिनुस् होमवर्क भनेर लेखिएको कपी छोडेर गइन् । पढ्दा पढ्दै आँशु त राजदेविको दुध झै अविरल बगिरह्यो खुशीको । छोरीको लेखाइ पनि सेयर गरेको छु फेसवुकमा । छोरी जयाश्रिकै नामसँग मेल खानेगरि राजदेविकी छोरी बाछीको नाम पनि राजश्रि राखिएको छ । जेठ ४ गते जन्मदिन पनि मनाइयो राजश्रिको । मान्छे झै नाम दिएको छ माया गरेको छ ,बर्थडे मानेको छ। कत्ति न भनेर नि भने भन्नेले । भनुन न त ! भन्ने न हो गर्ने होइनन् केहि । अँ साँच्चै ! राजदेविको पहिलो सन्तानको नाम नवराज थियो । तीन पटक धाउनु भएर नौ महिनाको हुँदा एकजना तेमालका बाले लिएर जानुभयो । केहि समय अघि आउनु भएको थियो अर्को नवराज छ कि लिएर जाम भनेर । खुशी हुनुहुन्छ वहाँ । निकै आम्दानी दिइरहेको छ रे नवराजले । सँयोग हो वा मेरो सँयोजन राजले राज गरेको छ । मेरो हजुरबुबाको नाम राजप्रसाद । हजुरबुबा सदा स्मरणमा रहोस् सन्तान दरसन्तानले याद राखुन् भनेर हाम्रो घरको नाम राजभवन राखियो ।अनि गाइको नाम राजदेवि पहिलो बाछाको नाम नवराज र बाछिको नाम राजश्री । सानो प्रयास ठुलो उपलव्धी ।

त्यस्तै एक पटक राजदेविसँग टहल्दै जाँदा एकजना भाइ राम्रो कुकुर डोर्याएर म नजिक आइपुगेको थियो ।मैले भाइ तिम्रो कुकुर र मेरो राजदेविसँगको फोटो खिचेर फेसवुकमा हालम कुनमा बढि लाइक आउँदो रहेछ हेरम हुन्छ भनेर भनेको नाइ हुन्न तपाईको राजदेवि त भाइरल भइसक्यो नि भन्दै हाँस्दै गयो । भाइरल चै के र कस्ता तथा कसरी भइरहेकाछन् त्यो सबैलाइ थाहै भएको कुरा हो । यहाँ खेती किसानी भाइरल हुनै सक्दैनन् । अत्यन्त माइरल मात्र हुनसक्छन् । मारमा छन् खेती किसानी । मल महँगी, फितलो बजार व्यवस्थापन लापरवाही नीति र सरकारको हेलत्वले पिल्सिएका छन् किसान । नाममात्रको कृषिप्रधान । वास्तविक कृषक मारमा कृत्रिम बनावटी कागजी ढाँचावाला, पैसावाला, नेतावाला र झोलेवालाहरुले कृषिका अनुदान स्वाहा पारेका छन् घिचेका छन् । नेता र नीति अनि यहाँको राजनीतिले ढाड सेकिएको छ यहाँ सबैको । तिनीहरुका भाषणले नकारात्मक तवरले रगत उम्लेर आउँछ । तिनीहरुका मुहार हेर्नै मन लाउदैन । दिमाग खराब हुन्छ । मन अस्थिर हुन्छ । तर जव राजदेविको समिप हुन्छु, शीतलता मिल्छ ।
अत्यन्त सकारात्मक उर्जा प्रवाह गरिरहेको हुन्छ । धेरै रोगहरु विसेक हुन्छ । गाईको नजिक हुँदा र सुम्सुम्याउँदा मात्र पनि अत्यन्त लाभ मिल्छ रे भनिन्छ । अक्सीजन लिएर अक्सिजन नै दिने गाईको गोवर गहुँत समेत गुणकारी हुने गाइको बुढ्यौली तथा बाँझोपन अत्यन्त कष्टकर हुन्छ । फल पाउञ्जेल पुजिने र निष्फल भएसि अपहेलित हुने प्राणी प्रथा परम्परालाई समुचित व्यवस्थापन गर्न नसकिए जति नै महिमा र महत्व भएपनि गाइलाई गाह्रो छ । गाइको साह्रोगाह्रो हाम्रो पनि पिरलो हो । तिम्रो गाइफर्म कता छ कतिवटा गाइ पालेको छ फोटो भिडियो त हाली रहेका हुन्छौ नि भनेर पनि सोध्छन् कत्तिले । मलाइ पुरै गाइपालक नै ठानेकाछन् कत्तिले । कति धेरै माया गर्नुहुन्छ तपाई ! अनि तपाइलाई पनि राजदेविले के साह्रो माया गरेको ! चाटेको । फोटो भिडियो हेर्दा मजा लाग्छ भन्छन् । कोहीले त भने कि तिम्रो प्रोफाइल खोल्छु अनि राजदेविको दर्शन गर्छु । यी र यस्ता कुराले मलाई खुशी दिन्छ । अहिले जे जति खुशी छु नि म , राजदेविसँग भोलिका ती दिनहरु सम्झँदा नमज्जा लागेर आउँछ । के राजदेवि सँधै मेरो साथमा हुन्छिन् ?के म सधैँ राजदेविको सेवा गरिरहन सक्छु ? के गर्नुपर्ला मैले ?के गर्लान् त कृषिप्रधान देशको सरकारले ?
पशुपतिनाथ र बुद्धभगवानको देशमा तिनै बुद्धभगवान र पशुपतिनाथ भाकेर भन्छु -‘राजदेविहरु र राजदेविहरुका सेवकहरुप्रति गौमैत्री नजर परोस् कृषिप्रधान देशको सरकारको । बस् यति हो । राजदेविको राज होस् समुन्नत समाज होस् ।’