
काठमाडौं।कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार २०८२’र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्ग उपाध्यायलाई‘सेवा पुरस्कार नेपाल २०८२’प्रदान गरेको हो ।
आइतबार काठमाडौंंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ग्वंगःलाई‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार २०८२’ र गर्ग उपाध्यायलाई ‘सेवा पुरस्कार नेपाल २०८२’ प्रदान गरे ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले विशेष कार्यक्रमको आयोजना गर्दै बद्रीविक्रम थापाको १०३औँ जन्मस्मृति दिवसमा दुवै पुरस्कार प्रदान गरेको हो।
उक्त दुवै पुरस्कार जनही नगद राशि दुई लाख २२ हजार रुपैयाँ रहेको छ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सानुकान्छी तामाङ र मिनु मालाकारलाई जनही नगद राशी २५ हजारसहित श्रम सम्मान प्रदान गरे ।
कार्यक्रममा गुठीले सिन्धुली गोलन्जोर खनियाखर्क स्थित ऋतम्भरा ज्ञान स्वरूप विद्यालयलाई शैक्षिक सामग्री व्यवस्थापनका लागि नगद राशि ५० हजार रुपैयाँ र ललितपुर पाटी पुनर्निमाण उपभोक्ता समिति, बगलामुखीलाई नगद राशि २५ हजार रुपैयाँ सहयोग स्वरूप प्रदान गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले विराटनगरबाट लिएको आफ्नो नागरिकता प्रमाणपत्रमा बद्रीविक्रम थापाको दस्तखत रहेको प्रसंग स्मरण गर्दै आफू थापाको व्यवहारबाट प्रभावित भएको बताए ।
कोइरालाले भने, “विराटनगरमा प्रशासकीय जिम्मेवारीमा रहँदा पनि बद्रीविक्रम थापा हाम्रो हजुरआमालाई भेट्न कोइराला निवास आउनु हुन्थ्यो । तर, गणतन्त्रपछि प्रशासकहरूप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ । आज दलीय घेरामा प्रशासकहरू नराम्ररी पर्नुभएको छ । त्यसैले पूर्व प्रशासकहरूप्रति मलाई धेरै श्रद्धा छ ।”
उक्तअवसरमा ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुंगाना’ स्मृतिगन्थ र र गुठीको मुखपत्र ‘सेवा नेपाल २०८२’(दमननाथ ढुंगाना श्रद्धाञ्जलि अंक)को लोकार्पण पनि गरियो ।
प्रा.डा.सुरेशराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी एवं लेखक राजेश खनालले गरेका थिए ।





