कविता
ओमकुमारी बञ्जारा रानाभाट
जीवन चिन्नु हो !
जबदेखि मैँले
होश सम्हालेँ
मैँले मलाई नै
चिन्ने प्रयत्न गरेँ
म जन्मनुको अर्थ
बुझ्ने कोसिस गरेँ
मेरा कर्तव्यहरू
बोध गर्ने आशक्ति राखेँ
जीवन बुझ्ने
प्रयत्न गरेँ
जगत् बुझ्न
धर्ती पढेँ
आकास छुन अगाडि बढेँ
मान्छे चिन्न
मन विचारेँ
देख्दा मान्छे
कति राम्रा ?
बोली कति मीठो
महजस्तै।
व्यवहार ?
अहो ! दुई जिब्रे बोली
जालझेल
तानातान
हानाहान
डाहईष्या
दुराचार
वैमनष्यता
मुखमा रामराम
बगलीमा छुरा
छ्या बगलीमारा पनि
अन्धो छ मान्छे
अन्धाधुन्ध हिँडछ
बाटो एकातिर
हिँड्छ अर्कोतिर
गन्तव्य पुग्ने आशामा
भौतारिन्छ एकोहोरो पारामा
भूत
वर्तमान
र भविष्यमैँ अल्झिरहेछ
मानिस !
हिजोको सोचेर पछुताउँछ
आज रुमलिँदै रुमलिँदै
भोलिको सोचेर
दुःखी हुन्छ
जीवन चिन्न नसक्दा
पोखिएको छ
बगरमा खुसी
अल्झिएको छ
पहराको खोँचमा श्वास
आँखामा लागेको छ
कुहिरो !
दिमागमा लागेको छ
खिया !
विचारमा लागेको छ
धमिरा !
कसलाई
ज्ञान बाँढ्नु यहाँ
कोहीकोही बाहेक
उस्तैउस्तै देख्छन्
बुद्धका आँखाले
सबेरै उठेर परमात्मालाई
धन्यवाद भन्नुको सट्टा
मोवाइलमा आँखा गढेपछि
सुरु हुन्छ दिनको कहानी
अनि हराउँछ
आफ्नो उज्यालो भविष्य
अरूकै दु:खमा रोयो
अरूकै सुखमा रमायो
अरूकै लहैलहैमा लाग्यो
आजकल कहाँ छ र
मान्छे आफूसँग ?
झुटो प्रेमले
चितामा पुर्याएका
साँचा कहानी
पत्याउनै पर्ने
हामीले ?
होइन अरूको खुसी
किन होला हर्ने ?
लडाउलान् पछार्लान् भन्ने
डरै छैन
विश्वासको बुई
बेहोसीमैँ चढ्ने
वचन
र वाचामा जुवा खेल्छन्
आफैँ हार्छन्
हरेश खान्छन्
ओ, मान्छे !
किन बाटो बिराएको हो
यसरी ?
बुझ त
आफूलाई कता जाँदैछौ
तिमी ?
कहाँ उभिएका छौ
तिमी ?
आफ्नो छायाँ हेर त !
के गर्दै छौ ?
हेर त एकफेर
के गर्नु पर्ने हो ?
के गरिरहेका छौ ?
जीवन चिन्नु नै
जिन्दगी सफल हुनु हो
सफल हुनु नै
आनन्द हुनु हो
आनन्दमा रमाउनु नै
जीवन चिन्नु हो !!