पुराना पुस्तक
कृति : पात्रहरु
विधा : कथासङ्ग्रह
कथाकार : रुद्र ज्ञवाली
रुद्र ज्ञवाली समाजका विभिन्न आरोह अवरोहहरु जसले उनको मन छुन्छ ती विषयवस्तुमाथि कथा लेख्छन् । समाजमा हामी सबैले देखेभोगेका वा महसुस गरेका विभिन्न पात्रहरुको चरित्रमा छिरेर कथा सृजना गर्छन् । पात्रहरुमा भएका सबै पात्र हाम्रै समाजका उपज हुन् । यही समाजका ती पात्रहरुले जसरी समयलाई भोगेका छन्,बुझेका छन् वा अनुभूत गरेका छन् त्यसै कथानकतामा ज्ञवालीका कथाहरु सन्निकट छन् ।
विभिन्न सत्रथान विषयगत विविधतामा शिर्षकृत पात्रहरुले भरिएको कथाकृति यथार्थवादी धरातलमा रहेर लेखिएको छ,भलै यसकृतिले पाठकको मन मज्जैले तान्छ । सरल भाषाशैलीमा कथाहरु उत्कृष्ट देखिएका छन् ।
पात्रहरुलाई सिर्जनशील प्रकाशन सहकारी संस्था लि.ले पहिलो पटक वि.सं.२०७२ मा प्रकाशित गरेको हो ।
कृति : रहरले किनार छुँदा
विधा : मुक्तकसङ्ग्रह
मुक्तककार : निशा के.सी.
समकालीन मुक्तक लेखनीमा क्रियाशिल निशा के.सी.को यो पहिलो मुक्तक कृति हो । समसामयिक विषयका विभिन्न क्षेत्रहरुलाई रोजेर मुक्तक सृजना गर्ने निशाका यसभित्र २१६ थान मुक्तकहरु समावेश गरिएका छन् । उनका यी कृतिभित्रका मुक्तक विविधतायुक्त छन् । समाज र यहाँका विभिन्न विकृति र विसंगति विरुद्ध परिलक्षित गरेर सृजना गरिएका छन् । समाज, प्रेम,राजनीति,व्यवसाय,मित्रता लगायतका विषयगत विविधतामा मुक्तकहरु रचिएका छन् । सबैजसो मुक्तक रुवाईशैलीमा देखिएका छन् । भनौं मुक्तक संरचनाका नियमभित्र बाँधिएका छन् ।
रहरले किनार छुँदालाई राजेन्द्रकृष्ण मानन्धरले वि.सं.२०७१ मा पहिलो पटक प्रकाशनमा ल्याएका हुन् ।
कृति: बाल-लीला
विधा: नाटकसङ्ग्रह
नाटककार : चिन्तामणि योगी
समाजमा नैतिकमूल्य र मान्यताको खडेरी बढ्दै गएको वर्तमान परिस्थितिमा बालबालिकाहरुलाई नैतिक मूल्य र मान्यताप्रति आस्थावान बनाउँन,पूर्वीय हिन्दुहरुको बैदिक दर्शनको जानकारी दिन लेखिएको नाटकसङ्ग्रह हो । हाम्रा पूर्वीय संस्कार र संस्कृतिप्रति जानिफकार बनाई बालबालिकालाई सहि मार्गमा हिडाउँन प्रेरित गर्ने नाटकहरु छन् बाल लीलाभित्र । हिन्दु धर्म दर्शनबाट प्रभावित र हिन्दु शास्त्रका विभिन्न महत्वपूर्ण कथाहरुलाई २१ वटा शिर्षकृत नाटकहरुमा समेटिएको छ ।
बाल लीलालाई पहिलो पटक वि.सं.२०५५ मा हिन्दु विद्यापीठ,नेपालले प्रकाशनमा ल्याएको हो ।