दियश रत्न शाक्य
जब दिन ढल्छ
जब दिन ढल्छ
क्रमशः ढल्दै जान्छन्
क्रमशः गल्दै जान्छन्
ताजा हालखवरहरू
ताजा समाचारहरू
थाहा छैन यसपछि
कस्तो गन्ध उमार्छ
र अन्तमा
कस्तो इतिहास जन्माउँछ ।
ओ इतिहास् ।
म तिमीसंग रमाउन खोज्छु
र यसैले
चाख मानेर पढ्छु
ध्यान सोहोरेर पढ्छु
तर पढ्दै जब म गहिरिन्छु
अथवा
बिलकुल भिन्न भिन्न प्रस्तुति पढ्छु
मलाई लाग्छ म केवल
अश्रु – मनले पढ्दैछु
पीडा थिचेर पढ्दैछु
इतिहासभित्र म देखिरहेको हुन्छु
जुलुसहरुको लस्कर
मरिसकेका दिनहरु
र मरिसकेका पात्रहरु
अन्यायको बिरुद्द
विभेदको बिरुद्ध
आफ्नो सुकिसकेको आवाज फर्काउँदैछन्
नारा उचाल्दैछन् ।
आजकल मलाई यो कण्ठ भइसकेको छ
इतिहासका साविक पानामा
कोही पराजित नायक बन्न सक्तैन
कोही सीमान्तकृत नायक बन्न सक्तैन
र हरेकपल्ट इतिहास
–मलामी होइन , सलामी गन्छ
– तरबारले घोपेको घाउ होइन ,
गोलीले छिया छिया पारेको छाति होइन
केवल बिजयध्वजा गन्छ ।
यसैले
अब इतिहास पढ्न बस्दा
म आफूलाई सम्हाल्न सक्नेछैन
र आक्रोशित मेरो मन
स्वःस्फूर्त खोजिरहेको हुनेछ
तरवारले होइन कलमले लेखेको
गुलामी हातले होइन हृदयले लेखेको
एउटा नयाँ इतिहास ।