काठमाडौं । आफू विरुद्ध आफैं अभियानको पाँचौँ श्रृङ्खला आज काठमाडौंको ठमेलमा एक कार्यक्रम संचालन गर्दै सम्पन्न भएको छ । कार्यक्रमका अभियान्ताहरू नवराज रिजाल, आरएम डंगोल, छविरमण सिलवाल, होमशंकर बास्तोला र बोधराज पौडेलले कविता वाचन गरेका थिए । कवि आरएम डंगालले कविले रचना गरेका कविताको रचना गर्भ, परिवेश, विषयवस्तु र प्रस्तुती कस्तो छ भनेर प्रश्न गरे ।
वाचन गरिएका कवितामाथि कविहरूले सो कविताको रचना गर्भ, बुनोट र विषयबस्तु बारे प्रकाश पारेका थिए । कविले कवितामा राजनीति र सामाजिक महत्वका विषयमात्र नभइ नवीनतम खोज गर्नुपर्ने धारणा डंगालले राखे । अहिले लेखिएका धेरै कविता पुराना कवि र कविताको प्रतिउत्तर मात्र भएको हुँदा आफु कवि हूँ भनेर चिनाउने माध्यम कविता भएको हुनाले त्यस्ता कविता सिर्जना गर्नसमेत डंगोलको सुझाव थियो । कविता सरल भावबाट उठान गरेर अन्तिममा सन्देश प्रवाह गर्ने वा सुरुमा बिम्बात्मक लय बनाएर बिस्तार गर्दै सरलभावमा ट्वाँक्क बनाएर अन्त गर्ने परम्परा छ । वास्तवमा कविताको मुल्य र शक्ति यही भएको बताए ।
कविताका धेरै सिद्धान्त पढियो र कविता अरु विधाभन्दा धेरै लेखिएपनि कविता यस्तै हुनुपर्छ भन्ने मान्यताको विकास आफुले गर्न नसकेको बोधराज पौडेलले धारणा राखे । उनले भने–‘लामो समय कविता लेखेपनि आफू सिद्धान्तमा नबाँधिने तर कविताको आधारभूत लय भने नछोड्ने बताए ।’
होमशंकर बास्तोलाले पहाडी जीवनसँग आफ्नो बालापन जोडिएका कारण अभाव र गरिबीको चित्रण आफ्ना रचनामा आउने स्पस्ट पारे । यतिहुँदा हुँदै पनि आफ्नो लेखनको मुल स्रोत राजनीति र सामाजिक परिवेश रहेको उनको भनाइ थियो ।
नवराज रिजालले आफ्नो कविता लेखन कम भएपनि कविताको उचाइँ, भाव, बिम्ब र मिथकसँग आफू परिचित रहेको बताए ।
कवि बोधराज पौडेलले ‘दाजै म पुरै वेवारिसे भए’ होमशंकर बास्तोलले ‘भो नबाँड खाली सपनाहरू’, आरएम डंगोलले ‘जन्मोत्सव’ र छविरमण सिलवालले ‘रुख’ शीर्षकको कविता वाचन गरेका थिए । कार्यक्रम संचालनमा होमशंकर बास्तोला र अध्यक्षता नवराज रिजालले गरेका थिए । आगामी कार्यक्रममा सदस्यता बिस्तार गर्ने निष्कृय सदस्य बारे नयाँ निर्णय हुनेसमेत कार्यक्रममा बताइएको छ ।