काठमाडौं ।हेम-सरिता पाठक फाउन्डेसनले शनिबार प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो ।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा.अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गरे ।
कार्यक्रममा २ लाख राशिको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल संयुक्त रुपमा पुरस्कृत भए ।
पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाउँदै आएको बताइएको छ ।
यसैगरी १ लाख राशिको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत भए। उनीहरले ‘जनतालाई रुवायो’गीतका लागि सो पुरस्कार पाएका हुन् ।
यसैगरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत भएको सो कार्यक्रममा उत्कृष्ट २५ कविहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरे ।

सोही कार्यक्रममा ‘भ्रष्टाचार विरुद्धका कविता’पुस्तक पनि लोकार्पित भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय डा.सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राखे ।
हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे जानकारी दिए।
कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गरे।
कार्यक्रममा गायक एवं सङ्गीतकारहरु नारायण रायमाझी,वी. वी.अनुरागी,कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाए ।यसैगरीराष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गरे।
कार्यक्रममा पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गरेका थिए ।