चर्चामा पुस्तक
नवकल्प
मानव समाज वरिपरिकै कथानकता टिपिएर लेखिएका लघुकथा कृति हो नवकल्प । यसमा ६१ थान लघुकथाहरु समावेश भएका छन् । जसमा मानवताबादी चेतले भरिएका कथा पनि छन् । कृतिमा समाजका अध्याँरा पक्षहरु विरुद्ध कटाक्ष गरिएका छन् । सकारात्मक सन्देश दिने कथाहरु पनि छन् । संकिर्ण समाजको वास्तविक चित्रहरु भन्न सकिन्छ लघुकथाहरुलाई । मानसिक रुग्णता झल्किएका,राजनीतिका विकृत रुपहरु चित्रण गरिएका लघुकथाहरु पनि छन् ।
बान्की परेका लघुकथाहरु स्वादिला पनि छन् । तीनमा शिल्पकारिताको सुन्दर रुप देखिन्छ । यसमा काव्य विधान र रुपविधान पनि राम्रा छन् ।
पीपी कोइरालाको नवकल्प लघुकथासंग्रहलाई कृतिका कोइराला प्रकाशक हुन् । कृतिको मूल्य रु.२००। रहेको छ ।
मनश्चक्षु
रुद्र अधिकारी ‘निर्दोषी’को लघुकथासंग्रह हो । स्वदेश तथा विदेशमा रहेका मानिसहरुका सम्बन्धका विभिन्न आयामहरु,समस्या,पीडा,दुखहरु यस कृतिभरी पढ्न पाइन्छ । समाजका विद्यमान सम्बन्धबीचमा रहेका विकृति र विसंगतिहरु लगायतमा समेत गरेर कुल ६२ वटा लघुकथाहरु कृतिभित्र रहेका छन् ।
कथाकारले नेपाली समाजका कतिपय विषयवस्तुहरुलाई मनको आँखाले हेरेर कथा बुनेका छन् । यथार्थलाई स्वैरकल्पनाको सुन्दर जलप लगाउँदा लघुकथाहरु उस्तै सुन्दर बनेका छन् । सरल छ भाषा पनि ।
समकालीन साहित्य प्रतिष्ठान,बेलायतले प्रकाशनमा ल्याएको मनश्चक्षुको मूल्य रु. २५०। रहेको छ ।
यूरोप यात्राका संस्मरण
बिन्दु सुवेदीको यूरोप यात्राका संस्मरण स्वीटजरल्याण्डको शहर ज्यूरिक घुम्दादेखि अष्ट्रियाको राजधानी भियनाका केही सम्झनासम्म यसमा समेटिएका छन् । आठ वटा विभिन्न शिर्षकका नियात्रा संस्मरणमा अनेक उपशिर्षक समेत छन् । प्यारिस डायरीको रुपमा् ६ वटा श्रृँखला छन् भने भियानाको १३ वटा ।
कृतिले यूरोपको जानकारी मज्जैले दिएको छ । सुस्वादु छ । गोथे,मोजार्ट,पिकासो लगायतका स्रष्टाहरुका चर्चाका प्रसंगपनि समावेश छन् ।
सेर्गेन प्रकाशन गृहले प्रकाशनमा ल्याएको यूरोप यात्राका संस्मरणको मूल्य रु.५००। रहेको छ ।