दिपिका खड्का
सत्ताको हाहाकार !
जनताद्वारा जनताले जनताका लागि बनाएको शासनमा,
जनता नै मरेतुल्य छन्।
आफूले चुनेकालाई बहिष्कार गर्नु,
र आफूले बहिष्कार गरेकालाई पूज्नु,
परिबन्दमा बाच्नुको सार्थकता
पक्कै लोकतन्त्रले खोज्दैन्।
जब शासन पद्धतिमा
जनता हार्ने
सरकार र मन्त्रीहरू र दलहरू जित्ने हुन्छ !
तब देशमा हाहाकार मच्चिन्छ !
गणतन्त्र नै भाइभारदारहरूको तन्त्र बनेपछि,
लोकतन्त्र नै परिवारवाद बनेपछि
जनता त केवल
किरा फट्याङ्ग्रा सरह बन्छन्
पैताला मै कुल्चिएर मर्छन् ।
गणतन्त्र जनताको लागि ल्हासाको सुन बराबर,
इच्छा कथाजस्तै बन्ने,
र रहर पानीझैं बग्ने
न त रूखको छायाँ छ,
न त हावाको शीतलता।
एउटा राजा हटाएर,
सयौँ राजा भित्र्याए बराबर।
भनसुन नगरी केही हुँदैन,
भनसुन गर्न फेरि कोही छैन।
जनता टुहुरा जस्ता
राजा हुँदा थियो राजपरिवार,
मन्त्रीका त झन् मन्त्रीगण।
पहिले कुलो, अहिले सागर।
दिक्क भइसके जनता।
विदेश आफ्नो नलाग्ने,
देश आफ्नो नहुने,
कस्तो अफ्ठ्यारो !
जान कि आफैँ पर्यो,
कि त माननीयहरूलाई हटाउन पर्यो।
लाचारी कस्तो यो !
जुन बाटो गए पनि,
शून्यता मात्रा।
बिगत, वर्तमान, भविष्य— जुनै हेर्यो, प्रदूषित।
हाहाकार छ परिस्थिति।
जनताद्वारा जनताले जनताका लागि बनाएको शासनमा,
जनता नै मरेतुल्य छन्।
कथन— केवल किताबमा सीमित,
वास्तविकता बिल्कुलै फरक।
जनताद्वारा जनताले जनताकै लागि बनाएको शासनमा,
मान्यजनको तन्त्र।
मान्यजनका बथानको राज—
जनता मरेतुल्य।
सास छ देख्दा,
तर बाँच्ने आशा मन्द हावाले उडाइसक्यो अन्तै कतै—
बादलपारिको शहरमा।
गणतन्त्रको परिमार्जित परिभाषा :
जनताको सास रोक्दै,
रगतको होली खेल्दै,
आशा भत्काउँदै,
जिन्दगी प्रदूषित गर्दै
आफू शिखर चुम्ने
तर जनतालाई जमिन मुनि गाड्ने
मन्त्रीले मन्त्रीका लागि मन्त्रीद्वारा
निर्मित सत्ता बने पछि,
सिंगो समय हार्ने रहेछ।
सदाबहार प्रश्न
यो चक्र कहिले तोडिने ?
यो चक्र कसले तोड्ने ?
प्रश्नको सागरमा डुब्ने पनि जनता,
उत्तर दिनेको अनुहारमा सधैं मौनता ।
उत्तर खोज्दा,फेरि असफलता मात्र।।।
असफलता !