रामचन्द्र घिमिरे ‘वियोगी’को‘कालिञ्चोक’महाकाव्य सार्वजनिक भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको सभाध्यक्षता र महेन्द्र संस्कृत विश्वविद्यालयका प्रथम शिक्षाध्यक्ष, न्याय तथा तन्त्रविद्याकेसरी एवम् तन्त्रविद्याशिरोमणि प्रा.विद्यानाथ उपाध्याय भट्टको प्रमुख आतिथ्यमा यही जेठ ३२ गते एक भव्य समारोहका बिच काठमाडौँको पद्मकन्या क्याम्पसको लोकार्पण गरिएको थियो ।
महाकाव्य सार्वजनिकीकरण समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल र छन्द कविताका अभियन्ता, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामप्रसाद ज्ञवालीको विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रा.डा.मोहनतिमल्सिनाले महाकाव्यकारको जीवनीमाथि प्रकाश पार्दै महाकाव्यकार घिमिरे संस्कृत विश्वविद्यालयबाट पौरस्त्य नव्यन्यायदर्शनमा आचार्य, त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर हुनुका साथै कानुन विषयमा समेत अब्बल सावित भई रामेछाप जिल्ला अदालतमा अभिवक्ताका रूपमा लामो समयसम्म वकालत पेसामा सक्रिय रहनुभएको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा.डा. लेखप्रसाद निरौला र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । संस्कृत विश्वविद्यालयका प्रा.डा. देवी नेपालले महाकाव्यका श्लोक वाचन गर्नुका साथै कृतिको समीक्षा गरी कृतिको महत्त्व दर्साउनुभएको थियो । कार्यक्रममा युवा पुस्ताका सन्तोषीश्रेष्ठ र कौडिन्य पराजुलीले महाकाव्यको श्लोकवाचन गरेका थिए ।







