सिध्दान्त
रामकुमार पण्डित
लघुकथाका हस्ती मानिने लेखकले पिञ्जडाभित्रको सुगालाई आहारा दिए । सुगाले खाएन । उल्टै पिञ्जडाभित्र भ्याट–भ्याट गरेर यताउता उड्दै बाहिर उड्ने चाहना व्यक्त गर्न थाल्यो । त्यसरी उड्दा फलामको पिञ्जडामा ठोक्किएर दुर्घटना पर्ला भन्ने सोची उनले समाए । नाइलनको डोरीले उड्न नसक्ने गरी पखेँटा बाँधिदिए । यसपछि सुगाले हलचल गर्न सकेन । बेलाबेला ट्याउँट्याउँ कराएर लेखकलाई आफू जिउँदो छु भन्ने प्रमाण पेश गरिरह्यो ।
एकछिनपछि सुगा कराउनै छोड्यो । के भएछ भनेर लेखकले पिञ्जडामा हेरे । सुगा ढलिरहेको रहेछ । उनले उठाएर अघि बाँधेको डोरी फुकाइदिए । पानी पिउला भनेर थपिदिए । त्यसले हलचलै गरेन । त्यसपछि त्यसलाई पिञ्जडा बाहिर राखे । सुगा अलिअलि चलमालाउन थाल्यो तर भुरुर्रर उडेर जाने चाहा गरेन ।
त्यति नै बेला लेखकको साथी आएर सबै बुझेपछि व्यङ्ग्य गर्दै भनेः “तपाईँको लघुकथा र यो सुगा एउटै बन्धनले थलिएछ तर लघुकथामा सिध्दान्तको बन्धन रहेछ, सुगालाई नाइलनको डोरी ।”