
काठमाडौं । सिम्पल आर्टसको आयोजनामा ‘सिम्पल सम्मान-२०८१’ बाट विभिन्न व्यक्तित्वहरु सम्मनित भएका छन् ।
उक्त सम्मानद्धारा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ,साहित्यकार एवं पत्रकार छविरमण सिलवाल,बरिष्ठ गायिका लोचन भट्टराई,शिक्षासेवी शारदा ढुंगेल,समाजसेवी एवं प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अञ्जली महर्जन सम्मानित भए ।
संस्थाको २७ औं वार्षिक उत्सवको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली साहित्य,संस्कृति,संगीत,कला तथा समाजसेवामा २७ वर्षदेखि निरन्तर क्रियाशिल संस्था सिम्पल आर्टसले गरेको उक्त कार्यक्रममा सबै उपस्थित व्यक्तिहरुलाई प्रमुख अतिथि मानेर कार्यक्रम गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा रहेका सहभागीहरुबाट सम्मान गरिएको थियो । साहित्यकार एवं साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गरेका थिए ।

सम्मानित व्यक्तित्वहरुको बारेमा पूर्व संस्थापक अध्यक्ष केशव सान्दाईले प्रकाश पारेका थिए ।
यसैगरी सम्मानित व्यक्तित्वहरुको योगदानलाई समेटेर सृजना गरिएको सुसेली दुर्गा अधिकारी भमरकोटेले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष पुस्कर जंगमले अध्यक्षता गरेको उक्त कार्यक्रममा सम्मानित व्यक्तिहरुको तर्फबाट शिक्षासेवी शारदा ढुंगेलले मन्तव्य राखेकी थिइन् । स्वागत मन्तव्य पूर्व अध्यक्ष शंकर भारती तथा सञ्चालन बिमल कोइरालाले गरेका थिए ।






