मन्त्रीको मुस्कानमा एक दृष्टि
प्रदीप सापकोटा
नेपाली साहित्यका विभिन्न विधा मध्ये आख्यान बढी लोकप्रिय विधा हो । कथाको लघुतम प्रभेद लघुकथा हो । लघुतम आयाममा संरचित आख्यान लघुकथा वर्तमान समयको अझै लोकप्रिय बनेको छ । मान्छेको वर्तमान ब्यस्त दैनिकीमा लघुकथाको उपादेयता र महत्व बढेर गएको छ ।
लामो समयदेखि नेपाली साहित्यकाशमा क्रियाशिल बौद्धिक व्यक्तित्व प्रा.डा.कपिल लामिछानेको नाम नसुन्ने साहित्यका पाठक नहुन पर्छ । कवितावाट नेपाली साहित्य लेखनीमा प्रवेश गरेका लामिछाने लघुकथामा मज्जैले जमेका छन् । यस अघि उनका पाँचवटा लघुकथा सङ्ग्रह प्रकाशित भैसकेका छन् । मन्त्रीको मुस्कान उनको छैठौं लघुकथा कृति हो । उनी निरन्तर लघुकथाको विधागत समुन्नयकोलागि सक्रिय कथाकार हुन् । उनका प्रायशः लघुकथाहरु समाजका विकृति, विसङ्गतिहरु र बेथितिहरुप्रति लक्षित गरेर लेखिएको पाइन्छ । यथार्थपरक कथानकता,सरल भाषाशैलीमा उनका लघुकथाहरु भेटिन्छन । पाठकलाई कौतुहलताको छडीले उत्सुक बनाउँन सक्नु कथाकारको खुवी लाग्छ । उनी विकृतिपूर्ण कुराहरुमाथि तिखा तीर सोझ्याउँछन् र खवरदारी गर्छन् । विकृत समयका उपजले पारेका नकारात्मक असरहरु पाठकहरुलाई औल्याउँछन् । अनि सावधान पनि गराउँछन् । उनलाई जे जे कुराहरुले छुन्छ ति विषयवस्तुलाई टपक्क टिप्छन् र लघुकथाको बुनोट गर्छन ।
मौलिक र स्वतन्त्र विधाको रुपमा प्रचलित लघुकथामा डा.लामिछाने सिद्धहस्त बनेर छाएका छन । शैली संरचनाको हिसावले भरिपूर्ण,विषयवस्तुको हिसावले परिपूर्ण,व्यङ्गचेतले ओतप्रोत लघुकथा लेख्छन् । समाजमा फैलिएका विकृतिप्रति तिक्ष्ण व्यङ्गवाण प्रहार गर्छन् । लघुकथामा हुनुपर्ने तत्वहरु पर्नेगरी कथाहरु सृजना गर्छन । उनी लहडमा लघुकथा सृजना गर्दैनन् । परिपक्व, जिम्मेवार र समर्पित भएर कलम चलाउँछन् । कथाका विषयवस्तुहरुमा समसामयिकता उनका लघुकथाको विशेषता हो । कथामा विविधता अर्काे विशेषता मान्न सकिन्छ । सटिक कथानकतामा लघुकथा सृजना गर्नसक्नु कथाकारको थप विशेषता हो । चुस्ततापूर्ण शैलीमा कथानकतालाई अनावश्यक लम्बेतान नगरी लेख्न सक्ने खुवी उनमा छ । उनका लघुकथाहरुको विषय वा घट्ना रोचक,कौतुहलता दिने,छरिता छन् । यिनका सृजनाले पाठकलाई असाध्यै गहिरो प्रभाव छोड्न सक्ने सामाथ्र्य राख्छ ।
समाजका विभिन्न पक्ष र विषयबस्तुलाई आफ्ना लघुकथाको विषय वनाएका लामिछानेका रचनागर्भ हेर्दा २०७८ सालको जेठदेखि २०८० साल बैशाखसम्म दुईबर्ष भित्रका रचनाहरु यस पुस्तकमा परेका छन् । पहिलो लघुकथा ‘पिंजडा’ स्वतंन्त्रताप्रति लक्षित छ । सुगालाई प्रतिक बनाईएको लघुकथाकी एक पात्र छोरीले स्वतंन्त्र रुपमा वनवनै डुल्नुपर्ने सुगालाई आफुसँग तुलना गरेको कुरालाई मार्मिक कथानकतामा बुनिएको छ ।
‘वाघकोे विजय’, ‘उपचार’,‘मन्त्रीकोमुस्कान’,‘श्री तीन’,‘राजनीतिक नियुक्ति’,‘हुँडार एकता’,‘गाँठीकुरो’जस्ता कथाहरु बर्तमान समयका यथार्थ ऐना हुन । यिनीहरुले बर्तमान विकृत राजनीति र यसले विषाक्त बनाएको अवस्थालाई आधारभूमी बनाएका छन् । यिनैकुरा प्रतिको ब्यङ्ग मज्जैले देख्न र पढ्न सकिन्छ तिनमा । यि कथाका अन्र्तवस्तु भनेकै वर्तमान राजनीतिमा देखिएका फोहोर पक्ष हो । यी कथाहरु राजनीतिक ब्यङ्गचेतले भरिएको छ । यिनमा राजनीतिक बिडम्बनापूर्ण अवस्थामाथिको सटिक प्रहार गरिएको छ । प्रशासनिक क्षेत्रको विकृत पक्षको वारेमा ‘सिस्टम’ लगायतका कथाहरुमा चित्रण गरिएको छ । कर्मचारीतन्त्रभित्रको चाकरी,चाप्लुसी,यहाँभित्रका भ्रष्टता आदि विषयहरु यस्ता कथामा रहेका छन् । वर्तमान मान्छेका स्वार्थ र लालचीपनाका कथा हुन थाल । समाजमा व्याप्त कुसंस्कारले जन्माएको कथा ‘प्रतिरोध’ हो । ‘गहना र नाक’ मा आफ्नो चाह पुरा गर्न मान्छेले के सम्म गर्छ भन्ने कुरा बडो गजबले दर्शाइएको छ । यस्तै हाम्रा समाजमा हुने नकारात्मक घट्नाहरुसँग जोडिएको अर्काे प्रतिनिधि लघुकथा हो ‘दाँत’। आफ्नाहरुप्रतिको आशावादीता र भरोसाका कुराहरु बडो प्रतिकात्मक रुपमा आएको छ ‘भर’ ,‘आँखा’ जस्ता कथाहरुमा । भूँईमान्छे र सम्पन्न बीचको अन्तर झल्काउँने कथा ‘बासी भात’ हो । आम सर्बसाधारणले सार्वजनिक यातायातमा यात्रा गर्नुपर्दाको बेहोर्नुपरेको दैनिकी हो ‘सहयात्री’ र ‘खाना’ जस्ता कथाहरु ।यस्ता कथाहरुमा यात्रामा आमयात्रुले पाएका झंझट र राजमार्गहरुका होटलमा खाना विकाउने तरिकाको सत्यापन गरिएको छ ।विदेशिएका छोराछोरीका तीन दशक नाघेका आम नेपालीको पीडालाई बडो ब्यङ्गात्मक शैलीमा पस्किएको कथा हो ‘फसाद’ ।
यस्तै यस्तै ५४ वटा कथा समेटिएको प्रस्तुत कृतिमा समावेश कथाहरु कलात्मक शैलीका छन् । तिनले उठाउन खोजेका विषयवस्तुको प्रभावकारी उठान गरेर न्याय गरेका छन् । पाठकलाई कौतुहल उत्पन्न गराउने किसिमले कथाहरुको अन्त्य गरेका छन् । सुत्रात्मक रुपमा रहेका छन् प्रायःलघुकथाहरु । लघुकथाका पात्र,परिवेश,कथालेखन शैली सघनरुपमा माझिएको देखिन्छ । शाब्दिक मितब्ययितालाई मध्यनजर गरेर कथानकता बुनिएको छ । वर्तमान समाजका कुरुपकता,विषम परिस्थिति,समाजका विकृत पक्षहरुमाथि तिव्रतर प्रहार उनका लघुकथाका विशेषता मान्न सकिन्छ । विचारको हिसावले प्रभावशाली,प्रतिकात्मकताको भरपूर प्रयोग,सूक्ष्म अनुभूतिले भरिएका, पाठकलार्य कुतुहलता जगाउने सामाथ्र्यका तत्वहरुले भरिपूर्ण लघुकथा लेख्न माहिर छन् डा.कपिल । समसामयिक विषयहरुमा उनको कलम चलेको देखिन्छ । यस पुस्तकमा आम सर्वसाधारणका पीडाहरु लघुकथा मार्फत ओकलिएको पाइन्छ । लघुकथाकोे कुनै सीमा र परिधि हुँदैन् भन्ने मान्यतालाई उनका रचनाहरुले मज्जैले बोलेका छन् । मानवतावादका पक्षपाती उनी आफ्ना सृजनाहरुमा प्रष्टै देखिन्छन् । लघुकथाका पात्रहरु बीचको सहज र सरल सम्बादशैलीलाई उनले चुनेका छन् । विषयवस्तुका आधारमा विविधता लघुकथाका विशेषता हुन् । सुक्ष्म बिम्ब विधान र प्रतिकहरुको समूचित प्रयोग, समसामयिकता ,व्यङ्गात्मकता, सुत्रात्मकता, आदि प्रवृत्तिहरु उनका कथामा पाउन सकिन्छ । बर्तमान समय र परिवेशलाई टपक्कै टिपेर सुन्दर लघुकथा निर्माण गर्नसक्नु कथाकारको विशेषता हो । उनी विचारविहीन कथा लेख्दैनन् । उनी कथामा सत्यको खोज र अन्वेषण गर्छन् । यथार्थको सत्यापन गर्छन् । मानिसका संवेदनाहरुले भरिपूर्ण कथाहरुमा उनी जम्छन् । यही हो डा.लामिछानेको कथाकारीताको विशेषता । लघुकथा पाठकले अभिरुचीपूर्वक पढ्न सक्छन् । पट्यारको कुनै गुन्जाइस हुन्न पाठकमा ।
लघुकथामा आफ्नै मौलिक चिनारी पाएका लामिछाने समाजका यथार्थताहरुको सन्निकट रहेर कथा बुन्छन् । समाजलाई विकृति र विसङ्गतिमुक्त बनाएर आदर्शवादी समाजको सृजना हुनुपर्नेमा उनका कथाहरुले जोड दिन्छन् । बौद्धिक चेतका धनी कथाकार आफु र आफु बाँचेको समाजप्रति बडो सजग,जिम्मेवार भएर आफ्ना सृजनामा लाग्छन् । परिस्कृत र वलिष्ठशील्प शैली,सामाजिक यथार्थका पक्षहरुको उजागर,सामाजिक विकृति र विसङ्तिप्रति तीब्रतम प्रहार,मूल्य मान्यता हराउँदै गएकोमा गरिएको चिन्ता,राजनीतिको विकृतपक्षमाथि ब्यँङ्गचेत उनका कथाका प्रवृत्तिहरु देखिन्छन् । उनले कुशतलापूर्वक भावको आख्यानीकरण गरेको पाइन्छ । विषयगत विविधतामा वस्तुविन्यास गरिएको कथाहरु परिपक्व लाग्छन् । कथाका अन्तरवस्तु उस्तै खारिएका छन् । आयामको हिसावले वढीमा दुई सय ५० शब्दसीमा भित्रै रहेर लघुकथाका घट्कहरु,कथानकता,पात्रको चरित्र निर्माण,भाषाशैलीमा सरलता जस्ता कुरा परेका छन् । कथानकको हिसावले संक्षिप्त रुपमा कथानकता सवल बनेर आएका छन् । कथाको माग अनुरुपका पात्रको चयन गर्न सक्षम भएका छन् । आवश्यकतानुरुपको परिवेश समेत कथाहरुमा निर्माण भएको छ । कथाहरुमा नकारात्मकताको आलोचना,व्यँङ्गचेत देख्न सकिन्छ भने सकारात्मक सन्देश प्रवाह गर्न कथाहरु सफल छन् । उनको आफ्नै कथा लेखन शैली छ । जिम्मेवार भएर लघुकथा सृजना भएको यहाँका कथाहरु पढ्दा थाहा हुन्छ । कथाहरु सुत्रात्मक,मीठा छन् । छोटा छन् । पाठकहरुलाई कौतुहल जगाउने सामाथ्र्य राख्छन् ।
कुनैपनि विषयलाई संक्षेपमा प्रस्तुत गर्नसक्ने खुवी भएका कथाकार हुन् लामिछाने । वाक्यमा द्रुतगतिको प्रवाहले सुन्दर लाग्ने कथाहरु बुन्न सीपालु डा.लामिछानेको लघुकथाप्रतिको लगावको जति नै प्रशंसा गरेपति कम हुन्छ । प्रस्तुत कृति भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।