काठमाडौ । कथा वाचन कार्यक्रमको चौधौं श्रृङ्खला आज २०८१ मङ्सिर २८ गते शुक्रबारका दिन सम्पन्न भएको छ । आज सर्वप्रथम मासिक कथावाचन कार्यक्रमका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पार्नुभएको थियो । बिभिन्न पुस्ताका कथाकारहरुबीच व्यक्तिगत परिचय र फरकफरक कालखण्डका कथाका विषयवस्तु, शैली, प्रयोगबारे एकअर्कालाई जानकारी गराउन यो कार्यक्रम शुरु गरिएको कुरा उहाँले स्पष्ट पार्नुभएको थियो ।
दिवंगत स्रष्टा भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला?’ वाचन गरेर कार्यक्रम आरम्भ गरिएको थियो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिएको छ । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको विसं १९९७ को अंकबाट कथाकार पबित्रा अधिकारीले वाचन गर्नुभएपछि अन्य छ जना प्रतिष्ठित कथाकारहरूले २०२०, २०३०, २०४०, २०५०, २०६० र २०७० को दशकमा प्रकाशित आफ्ना कथा वाचन गर्नुभएको थियो ।
आजको कार्यक्रममा कथाकार डा. देवीप्रसाद सुवेदीले २०२५ को उषा पत्रिकामा प्रकाशित कथा ’राक्षसको छायामुनि डुब्दै गएको उज्यालो’ शीर्षकको आफ्नो कथासङ्ग्रह ’सिपाही र जुलुस’ बाट वाचन गर्नु भएको थियो ।
स्रष्टा अमरकुमार प्रधानले सर्वप्रथम २०३५ जेठको हलचल पत्रिकामा प्रकाशित कथा ’सुनौलो सगरमाथा’ आफ्नो ’अमरका कथाहरु’ शीर्षकको सङ्ग्रहबाट वाचन गर्नुभएको थियो ।
कथाकार बाबा न्यौपानेले २०४८ को मधुपर्कमा प्रकाशित कथा ’कुरुक्षेत्रका युधिष्ठिर र हस्तिनापुरकी राज्यलक्ष्मी’ वाचन गर्नु भएको थियो ।
अर्का कथाकार अमोद भट्टराईले २०५४ बैशाखमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको समकालीन साहित्यमा प्रकाशित ’मैले कुखुरा बासेको सुनेँ’ शीर्षकको कथा आफ्नै कथासङ्ग्रहबाट वाचन गर्नुभएको थियो ।
‘परिस्थितिसँग अलमलिँदा’ शीर्षकको कथा स्रष्टा रञ्जुश्री पराजुलीले सोही शीर्षकको आफ्नो कथासङ्ग्रह (२०६२)बाट वाचन गर्नुभएको थियो ।
अर्का कथाकार दीपक लोहनीले २०७६ मङ्सिरको शाल्मलिमा प्रकाशित ‘पिसाब’ शीर्षकको आफ्नो कथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यका पाठकहरुको संस्था ‘बूकाहोलिक्स‘ की सगुना शाहले आफ्नो संक्षिप्त मन्तव्यमा यो मासिक कार्यक्रममा आज पहिलो पटक श्रोताका रुपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै यसले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले आपूmहरुले शुरु गरेको यो कार्यक्रममा कथासाहित्यमा रुचि हुने लेखक र पाठकहरुको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रम व्यवस्थापन संयोजक मन्दिरा मधुश्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कथासाहित्यका गम्भीर श्रोताहरुको उपस्थिति थियो ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । आफ्ना पूर्वप्रकाशित कथा वाचन गर्न इच्छुक सबैलाई नाम दर्ता गर्न आव्हान गर्ने गरिएको छ ।