कविता
पारिजातसँग
उर्मिला कोइराला
सुदूर पहाडबाट नीर खसेझैँ
यतै कतै खसेकी मात्र के थिएँ
पर बल्यो एउटा दियो
तर थाहा छैन
तेल हो कि, बत्ती हो कि, पाला आफैँ हो !
आफैँ बलेझैँ पनि लाग्छ
निभेजस्तो पनि लाग्छ
बल्दै निभ्दैको लोडसेडिङ जिन्दगीमा
पर देखेँ एउटा पावर हाउस
तर थाहा छैन
त्यो पानी हो कि, पावर हो कि, हाउस हो !
नभिभ्ने हो भने त
निभेपछि बत्ती सम्झनु किन ?
न बग्ने हो भने बगेपछिको के अर्थ
घाम आउँछ र त नआउनुको कल्पनामा
जीवनको उज्यालो कल्पेर फुल्न थाल्छ पारिजात !
जिएकी छु लाग्छ जीवन छ
हाँसेकी छु लाग्छ मुस्कान छ
रोएकी छु लाग्छ संवेदना छ
रिसाउँछु र त लाग्छ आवेग पनि छ
सम्पूर्णता जोडिएपछि
यो सग्लो शरीर बाँचेजस्तो लागेको छ
जीवन जीवन हुनुको पहिलो शर्त बाँच्नु न हो
अचेल बाँचिरहेकी छु ।
समयसँगको एउटा सानो सम्झौतामा म
म भएर उभिएकी छु
नदीसँग पैँचो मागेर अलिकति गति
मागेर पावर हाउसको उज्यालो
हटाएर जीवनको नीर
कल्पेर कुनै हरियो पहाड
म पारिजातको हाँगामा मुस्कुराउन चाहन्छु ।
पारिजात
म आफैँ फुल्छु
मलाई फुल्न देऊ
वैलाउँदा पनि सँगै वैलाउँला र झरौँला ल !