कविता
नयाँ नेपाल
ध्रुवराज थापा ‘पुरूष’
थोत्रो कोट फालेर
नयाँ कोट लगाएँ
राष्ट्रिय पोसाक मिल्काएर
हिप्पीको भेषमा सजिएँ
संस्कार संस्कृति भाँडमै जाओस्
सहिष्णुता कुल्चिएँ ।
आदर सत्कार मल खाडलमा पुरीदिएँ
किन कि हामीले नायाँ नेपाल बनाउनु छ ।
शिक्षा, स्वास्थ्य रोजगार महँगो छ
भविष्यका कर्णाधार विदेशीन
तँछाडमछाड गरिरहेका छन् ।
श्रमशक्तिको खडेरी भोग्दैछ देश ।
विप्रेषणको तरमा रमाउदैछ देश ।
इमानदारीतालाई, बदमाशीले
न्यायलाई, अपराधीले
कर्मचारीलाई, घुसले
नेतालाई, भ्रष्टाचारले
खर्लप्पै निलिसक्यो !
तर,
रत्तिभर पश्चाताप छैन
हो यही हो नयाँ नेपाल !
नयाँ नेपालमा,
न्याय बेच्ने पसलहरू खुलेका छन्
यौनशालाहरू निर्धक्छ छन्
मनपरी बोल्न पाईन्छ
तर काम खोजे पाईन्न ।
नयाँ नेपालमा नग्नतालाई,
स्वतन्त्रता बोलिन्छ ।
गरिवका दिन अब सकिए
किन कि, अब उ बाँच्नै सक्दैन ।
नेताहरू सुन भित्र्याउने होडमा
तँ छाडमछाड गर्दैछन्
शरणार्थी कै प्रमाणपत्र
भिडाएर भएपनि
बिदेश उडाउँदै छन् ।
पिडितहरू सडकमा सुते पनि,
मिटर व्याजीहरू जुङ्गामा ताउ लगाउँदै छन् ।
अपराधीहरू ठूलै बहादुरी गरे झैं
अबिरजात्रा गर्दै जेलबाट निस्कन्छन् ।
यत्रतत्र पैसा बोलिरहेछ
देशैभर भ्रष्टाचारको डढेलो सल्की रहेछ
नयाँ नेपालमा ।