
काठमाडौं । नेपाल स्रष्टा समाजको १८ औं साधारण सभा तथा १० औं अधिवेशन आगामी असोज १२ गते शनिवारको दिन आयोजना हुने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति,कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम हुने नेपाल स्रष्टा समाजका अध्यक्ष,वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले इ खबर नेटलाई बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको उद्घाटन सत्रमा बंगालादेश, सिक्किम र दार्जिलिँगबाट ७ जना पाहुना साहित्यकारहरु समेत सहभागी रहने उनले बताए । कार्यक्रममा आतिथ्यताको लागि केही विदेशी पाहुनाहरु आइसकेका पनि उनले जानकारी दिए । अधिवेशनले आगामी कार्यकालको निम्ति नयाँ नेतृत्व चयन गर्नेछ ।

आइतबार समाजको आयोजनामा चन्द्रागिरीमा त्रिदेशिय कवि गोष्ठी हुने पनि उनले जानकारी दिए ।
नेपाल स्रष्टा समाजको आजीवन विशिष्ट सदस्य तीन सय जति रहेका छन् ।
साहित्यको श्रीवृद्दिको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस समाजले विभिन्न समयमा सम्मान,पुरस्कार,कवि गोष्ठी, बहुभाषिक कवि गोष्ठी, कृति लोकार्पण,भाषिक गोष्ठी, अन्तरकृया, स्रष्टा दर्पण प्रकाशन, साहित्यिक कृति प्रकाशन, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको विकास र प्रचारकालागि विदेशी विभिन्न साहित्यिक सँस्थासँग सहकार्य,सु-सम्बन्ध स्थापना जस्ता कार्यहरु गर्दै आएको छ ।
नेपाल स्रष्टा समाज नेपाली स्रष्टाहरुको साझा चौतारी भएको ‘रोदन’ले बताए । वि.सं.२०६४ सालमा विधिवत कानूनी रुपमा स्थापित स्रष्टा समाजले नेपाली स्रष्टा माझ छुटटै पहिचान बनाएको बताउँदै श्रेष्ठले बताए अनुसार समाजको सबै प्रदेशमा प्रदेश कमिटी निर्माणको थालनी गरिएको छ । हालसम्म ६ प्रदेशमा कमिटी बनिसकेको छ । नेपाली भाषामा मात्र नभएर देशमा भएका अन्य राष्ट्रिय भाषाका साहित्यको विकासमा पनि लागि पर्ने उनले बताए ।





