काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
१५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ । गृहमन्त्रीले समेत सार्वजनिक रूपमा प्रसाईंले सुरक्षाकर्मीलाई ज्यान मार्ने नियतले गाडी कुदाएको बताएका थिए ।
उक्त दिनको सार्वजनिक भएको प्रसाईको भिडिओमा आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा प्रष्टै सुनिन्छ ।