
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए ।
उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए ।
उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।’ घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे ।

यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गरिन् ।
उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’
यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।
प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालित प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् ।
तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो ।
यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् ।
यद्यपी, यौन पेशालाई लिएर विभिन्न कोणबाट वहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरुको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।
यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाई लिएर सेक्स वर्करहरुलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् ।

यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् ।
उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ ।







