काठमाडौं । कानुनी अनुसन्धान समाज नेपालद्वारा आयोजित “भ्रामक सूचना नियन्त्रणसम्बन्धी राष्ट्रिय सम्मेलन २०८१” सम्पन्न भएको छ ।
नेपालमा भ्रामक, मिथ्या तथा झुटा सूचनाका असरहरू, कानुनी चुनौतीहरू, र तिनको समाधानका उपायहरूबारे आयोजित उक्त कार्यक्रममा पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय गोकुल बास्कोटाले -‘म मन्त्री भएका बेला मैले यो विधेयक ल्याउन कोसिस गरेको थिएँ, तर त्यसविरुद्ध अनावश्यक विरोध भयो। अहिले आएर यही विधेयकलाई नै स्वीकृत गर्ने अवस्था आएको छ। यसले देखाउँछ कि सूचनाको प्रवाहलाई नियन्त्रण होइन, उचित नियमन गर्न जरुरी छ ।’ भने ।
उनले सूचना प्रवाहलाई व्यवस्थित गर्न कानुनी संरचना आवश्यक छ। प्रेस स्वतन्त्रतालाई कायम राख्दै, नियोजित रूपमा फैलाइने तथ्यहीन सूचनालाई नियमन गर्न उचित कानुनी व्यवस्था गर्न आवश्यक भएको पनि बताए ।
संस्थाको अध्यक्ष आयुष बडालको अध्यक्षता एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा वक्ताले, सूचना प्रविधिको दुरुपयोग, भ्रामक समाचारको असर, नयाँ सामाजिक सञ्जाल नियमन विधेयक र कानुनी सुधारका आवश्यकताबारे चर्चा गरे ।
सम्मेलनमा सहभागी कानुनी विज्ञ, पत्रकार, साइबर सुरक्षाविद् तथा नीति निर्माताहरूले सूचना प्रवाहलाई नियमन गर्न आवश्यक कानुनी सुधार, प्रविधिको उचित प्रयोग, र जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उपायहरूबारे महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।
सम्मेलनमा कानुनी विज्ञ, पूर्व न्यायाधीश, साइबर सुरक्षाका विज्ञ, पत्रकार, अनुसन्धानकर्ता, तथा कानुन र सञ्चार क्षेत्रमा संलग्न विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



