काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने संघको सिन्डिकेट हटाउन आदेश दिएको हो ।
सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाटसागर ढुंगानाले दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले संघ/संघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ ।
अब निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री/वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघ/ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न पाइने छैन ।