प्रायःजसो काठमाडौंका प्रमुख स्थान एवं विहारहरूमा स्वयम्भू स्तूपसँग मिल्दा जुल्दा शैली र आकार प्रकार भएका स्तूपहरू प्रचूर मात्रामा पाइन्छन्- बौद्धनाथ स्तूप बौद्धमा, धनद्य: (धनदेव) चैत्य चावहिलमा, महाबुद्ध चैत्य वीर हस्पिटल निर महाबौद्धमा, टेवहाल भित्र र वसुवन्धु चैत्य टेवहाल जाने बाटोमा, ठहिटी चोकमा लीलावज्र चैत्य, यंगाल जाने बाटो नवहिलमा, यट्खा वहालमा, नरदेवीमा त्यो भन्दा अलिमाथि सुन्ता गाउँमा, ठमेल भगवान् वहालभित्र, श्रीघट चैत्य श्रीघः विहारमा, जामाचो चैत्य जामाचो डाँडामा, ललितपुर जिल्ला ठैबोमा, धवल चैत्य साँखुको गूं विहारमा र ललितपुरको महापाल अवस्थित | कामुनक विहार अगाडि पनि यस्तै स्वयम्भू आकारको चतुर्बुद्ध र नेत्रयुक्त स्तूपहरू पाइन्छ । चितलाङ्गमा पनि यस्तै एक चैत्य भेटिन्छ ।
यी उपर्युक्त स्तूप चैत्यहरूमा श्रीघः विहारको चैत्य स्वयम्भू स्तूपसँग ठ्याक्कै मिल्ने गरी बनाइएको स्वयम्भू स्तूपको प्रतिकृति मानेमा कुनै अतिशयोक्ति नहोला । किनभने यस स्तूपको अगाडि स्वयम्भूमा जस्तै हारतिमाताको मन्दिर पनि स्थापना गरेको छ । सुधावलेपन गरिएको गर्भ गृह, त्रयोदश भुवन, वर्षाथालक (आमलशारक) नेत्रयुगल, कुंजिका, सुदृष्टि (सानोप्वाल), वर्मिका, हलिपट्ट (हलंपौ) र पंचबुद्ध पनि क्रमैले स्थापना गरिएका छन् । तर श्रीघः चैत्य र स्वयम्भू चैत्य बाहेक अरु चैत्यमा कहीं पनि वैरोचन बुद्धको प्रतिमा स्थापना गरिएको भेटिंदैन । यो श्रीघटः चैत्य र स्वयम्भू स्तूपमा धेरै कुराको समानता भएपनि एउटा भिन्नता के छ भने यस चैत्यमा स्वयम्भूमा जस्तो ताराहरूका प्रतिमा राखिएको छैन । यो एउटा मन्त्रयान परम्परा र दर्शनको छुट्टै मान्यता र सिद्धान्त द्योतक तत्व हो ।
यो श्रीः घट चैत्यको दक्षिण पूर्व कोणमा पनि स्वयम्भूमा जस्तै वज्रधात्वेश्वरी (धर्मधातु)को प्रतीक मानिने प्वाल र छेपूयुक्त सुन्दर द्वार आकृतिको तोरणभएको प्रस्तर पाटा विद्यमान छ । यहाँको प्रस्तरपाटामा स्वयम्भूमा जस्तै गोल किल्ला (कोलं की) पनि ठोकिएको छ । तर यसमा स्वयम्भूको प्रस्तर पाटामा जस्तो नेत्रयुगल र कुंजिका भने लेखिएको पाइँदैन ।
यी उपयुक्त स्तुपहरु मध्ये केही छुट्टै विशेषता र महत्त्व बोकेको चैत्यमा यी उपर्युक्त स्तुपहरू बौद्ध नाथ स्तूपलाई मान्न सकिन्छ । यो स्तूप अरु चैत्य भन्दा धेरै ठूलो र अग्लो छ । वेदी, जघावेदीका हिसाबले बनाइएको हुँदा धेरै ठूलो परिधि एवं क्षेत्रफल यसले ओगटेको छ । यस स्तूपको गर्भगृहको ठीक मुनिको वेदीमा धेरै वज्रयानका मूर्तिहरू स्थापना गरिएका छन् । वेदीभन्दा बाहिरको पर्खालको घेरामा मूर्ति नभएको स-साना चैत्यहरूले घेरेर यो स्तूपलाई अझ सुन्दर रूप दिन सफल भएको देखिन्छ ।
यो बौद्धनाथ स्तूपको त्रयोदश भुवन भने स्वयम्भूमा जस्तो गोल छैन पुल्चोकको स्तूपमा जस्तै चारपाटे अर्थात चारकुने त्रयोदश भुवनहरू अंकित चक्रावलीको प्रभाव छ कि भन्ने भान हुन्छ । अरु सबै नेत्र आदि कुराहरू गरिएको देखिन्छ । तसर्थ यो चैत्यमा क्रियासंग्रहमा वर्णित कोणावली आकारको स्वयम्भूमा जस्तै भएपनि यहाँ ध्यानीबुद्धहरू र ताराहरू पनि राखिएका छैनन् । यो स्तूपको अगाडि स्वयम्भूमा जस्तै हारतीको मूर्ति स्थापना गरिएको छ । तर यो मूर्तिलाई हारतीको मूर्ति भनिएपनि यो मूर्तिमा हारतीका पंच प्रियपुत्रहरू समावेश गरिएका छैनन् । वरु प्रत्यालीध आसनमा बसी शव काखमा लिई शवको शरीरबाट आन्द्रा तानी चुसी राखेको स्पष्टसँग देखाइएको छ । हाम्रो समाजमा हारती मातालाई हासीमो (हाँसिरहेकी अनुहार) भनेर चिनाइन्छ । हुन पनि हो, यक्षराज पांचिककी पत्नी श्री हारती माता बुद्ध धर्म संघको शरणमा • आएदेखि सन्तुष्ट र हंसमुख भएकीले स्वयम्भूको हारती पनि मुसुमुसु हाँसिरहेकी भक्त वत्सला देवीको रूपमा हाम्रो जनसमाजले ठूलो आदर सत्कार गरिआएका छन् । यो देवीको विशुद्धि अरु बौद्ध दर्शनका देवदेवीसँग दाँजेर हेरेमा यी देवीलाई पत्ता लगाउनु सजिलो हुनेछ । तर झ्वाट हेर्दा यो देवी फुक्कसीदेवी दक्षिणकालीको मूर्तिसँग पनि समानता राख्छ ।
यस्तै ठंहिटी चोकमा अवस्थित चैत्यलाई पनि एउटा विशेष चैत्यको रूपमा लिन सकिन्छ । स्वयम्भू पुराणमा हलिपट्ट (हलंपौ) चतुर्महाराजहरूले सहर्ष बनाइदिएर स्वयम्भू चैत्यको रक्षा गरे भनेर लेखिएको छ भने यो ठंहिटीको स्तूपमा गर्भगृह माथि चारै दिशा फर्केका साक्षात् चतुर्महाराजहरूकै मूर्ति राखी चारै दिशाबाट आउने भय, शंकटबाट रक्षा गरिरहेको सुन्दर स्तूप प्रस्तुत गरेको पाइन्छ । यो एउटा हालसम्म नेपालमा पाइएका स्वयम्भू शैलीका चैत्यहरू मध्ये सुन्दर एवं मौलिक विशेषता हो । सुनिन्छ यो चतुर्महाराजहरूयुक्त चैत्य सिकं भूबहा (तरुमूल) विहारका प्रसिद्ध आचार्य लीलावज्रले छैठौं शताब्दीतिर स्थापना गरेको हो ।
यो स्तूपको अर्को विशेषता हो स्तूपको चारै कुनामा पहिलो शताब्दीको बौद्ध ग्रन्थ दिव्यावदानमा वर्णित स्तूपमा जस्तै भगवान् बुद्धको जन्म, संबोधि धर्मचक्र प्रवर्तन र परिनिर्वाणका प्रतीक स-सानो मूर्ति नभएको चारवटा निमित्त चैत्यहरू पनि चारै दिशामा स्थापना गरिएका छन् । हुनत श्रीघः विहार र पुरानो स्यंगूको चैत्य, महाबुद्ध चैत्य तथा राजकीर्ति महाबिहार टेवहालको चैत्यको वेदीमा पनि चारै कुनामा भगवान्को जन्म आदि स्मरण गराउने यस्तै चैत्यहरू राखिएका छन् । तर यी चैत्यहरूको उद्देश्य र महत्त्व भने प्रायः बिर्सनै लागेको आभास हुन्छ । चैत्यै चैत्यको देश यो नेपालमा चैत्य प्रतिको आस्था र श्रद्धालाई हामीले समयमै जगाउन सकेन भने हाम्रा मौलिक धरोहर हरू भताभुङ्ग हुन बेर छैन ।
वीर हस्पिटल अगाडि महाबौद्धमा अवस्थित सुधावलेपन गरिएको चतुर्ध्यानी बुद्धयुक्त महाबुद्ध चैत्यमा पनि स्वयम्भूमा जस्तै पूर्व र पश्चिम दिशामा प्वाल र छेपुयुक्त तोरण भएको प्रस्तर पाटा राखिएका छन् भने सो पाटामा गोल किल्ला (कोलं की) पनि थोकि राखेको पाइन्छ । तर संस्कृति र परम्परा नबुझ्दा त्यस छपूअंकित द्वारयुक्त पाटामा स्वयम्भूमा जस्तै लेखिएका आँखा, नेत्रयुगल र कुंजिका चाहिं हावा पानीसँग जेलिदै जाँदा वा मेटिदै गएपछि फेरि लेख्ने प्रयास नगरिएको हो कि जस्तो मनमा लाग्नु स्वभाविक छ । यस्तै कुरा श्रीघः विहारको स्तूपमा पनि घटेको हुनुपर्छ । स्मरण रहोस् स्वयम्भू चैत्यको पूर्व कोणमा अवस्थित, “ज्ञानपतिं जीर्णोद्धार” यागु भनेर लेखिराखेको प्वालयुक्त प्रस्तर पाटामा भने अद्यापि आँखा, कुंजिका र गोलकिल्ला (कोलंकी) यथावत् स्पष्ट नै छ । यस महाबुद्ध चैत्यमा विशुद्ध नेपाली परम्पराको गोल त्रयोदश कुन दर्शन एवं भुवन पनि हुबहु स्वयम्भूमा जस्तै देखिन्छ तर के कारणले हो विशुद्धिका आधारमा हो कुन्नि यस महावुद्ध चैत्यका आँखाहरू स्वयम्भूमा नीलो रंगले नेत्रयुगल लेखिएको देखिदैन । नीलो रंगको सट्टा यहाँ नीखर कालो रंगले नेत्र लेखिएको हुनाले यहाँको नेत्रमा हामीलाई हेर्नासाथ अनुभव हुने कोमलता र कमनीयताको अनुभूति हुदैन । नेत्रको रंग सम्बन्धी कुरा तल वर्णन गरिने छ । हुनत सलतपुरको महापालमा पनि काले रंगले नेत्र लेखिएको पाइन्छ । यो अन्वेषणीय नेपाली मौलिक संस्कृति र कलाको विषय हो ।
महाबुद्ध चैreat अर्को विशेषता हो यो स्तूपको ठीक पूर्व दिशामा कोष्ठपाल (क्वापा द्यः) का रूपमा विशालकायको रक्तवर्णको पश्चिमाभिमुख अक्षोभ्य मूर्ति स्थापना गरेको पाइनु, यस पश्चिमाभिमुख अक्षोभ्य मूर्तिलाई इतिहासविद्हरू एशियाकै एकमात्र विशालकाय अक्षोभ्यका रूपमा मान्दछन् । यो बौद्ध दर्शनको शास्त्रीय परम्परा एवं विधि अनुसार नीलो हुनुपर्ने हो तर हालसम्म पाइएका समस्त माटाबाट बनाइएका मूर्तिहरू नीलो बनाउनु पर्ने होस् वा सेतो सो मूर्तिहरू रातो नै बनाइन्छ भन्ने कुरा ललितपुरको आर्यावलोकितेश्वर सेतो हुनुपर्ने भए पनि रातो हुनुबाट पनि पुष्टि हुन्छ । त्यस्तै विभिन्न अरुमाटाले बनाइएका रातामूर्ति केलाएर हेरेमा पनि समस्त माटाका मूर्ति राता नै हुन्छ भन्ने कुरा अबगत नहोला भन्न सकिन्न । साथै यस सम्बन्धि विशेष शास्त्रीय विधिहरू अन्वेषण गरेमा नपाइएला भन्न सकिन्न ।
१७ औं शताब्दीमा निर्माण भएको कीर्तिपुरमा अवस्थित स्वयम्भू चैत्यको प्रतिकृतिस्वरूपको चीलंचो महाविहार ( जगतपाल महाविहार) पनि अत्यन्त सुन्दर चैत्य मध्ये एक मान्न सकिन्छ । यहाँ पनि स्वयम्भू स्तूपमा जस्तै चारै दिशामा चतुर्बुद्ध मूर्तिहरू स्थापना गरिएका छन् । यहाँ उपलब्ध विभिन्न शिलापत्रहरूको आधारमा १७ औं शताव्दीमा निर्मित भनी निक्यौल गरिएको यो स्तूप एकदम भव्य मात्र होइन शास्त्रीय विधि एवं नियम अनुसार चैत्यमा हुनुपर्ने चतुर्बुद्धदेखि लिएर यष्टि, त्रयोदश भुवन, बर्षाथालक, नेत्र युगल आदि सबै कुरा यसमा विद्यमान छ । यस स्तूपमा पनि पूर्व, पश्चिम, दक्षिण आदि दिशामा स्वयम्भु स्तूपमा जस्तै छेषु (कीर्तिमुख) युक्त द्वार सहितको खोपा भित्र प्वाल भएको प्रस्तरपाटा राखिएका छन् । पूर्वपट्टिको यस्तो द्वार र खोपा मुनि धातुका पाटामा धर्मधातु भन्ने शब्द बुझिने तर अस्पष्ट अक्षरहरू कुँदिएका छन् । तर वज्रधात्वेश्वरी भनिने स्वयम्भू चैत्यको पूर्वपट्टिको पातामा जस्तै यहाँ कोलंकी (गोल किल्ला) र आँखा लेखिएको छैन केवल प्वाल मात्र राखिएको छ । खोपाभित्रको प्वाल युक्त यो प्रस्तर पाटा छेपु (कीर्तिमुख) युक्त तोरणले भने सिंगारिएका छन् । यहाँ हाम्रो मनमा कौतुहलता उब्जेको छ- यी प्वाल, किल्ला, नेत्रयुगल, दुईवटा सर्प मुखले च्यापिरहेको छेपु (कीर्तिमुख) युक्त तोरणले सिंगारिएका खोपा (प्रतिमागृह) एवं प्रस्तर पाटाहरूले चैत्य एवं स्तूपसँग मितेरी गाँस्दै हामीलाई कुनै रहस्यमय धर्म, दर्शन एवं संस्कृतिको परम्परालाई त संकेत गरिरहेका छैनन् ? यो एकदम अन्वेषणीय विषय वस्तु हो । अशोक चैत्य तथा लिच्छवी चैत्य भनिने बुद्ध मूर्ति रहित चैत्यको खोपा र आसनहरू पनि सुन्दर छेपुयुक्त तोरणले सजाइएको पाइनुबाट छेपुयुक्त तोरणहरूको सुरुवात कसरी किन भयो कौतुहल हुनु अत्यन्त स्वाभाविक छ ।