काठमाडौं । संसद सूचारु भएको केहीदिन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भएको छ ।
सोमवार प्रचण्ड,देउवा र ओलीबिच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसदमा लामो समयदेखिको रस्साकस्सीबिच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनेपछि तीन शिर्ष नेताहरुको कुराकानी भएको हो । संसदमा थुप्रै विधेयकहरु चाँग लागेर बसेकोले यिनलाई मृर्तरुप दिन विधेयकहरु अगाडी बढाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
विभिन्न शिर्षस्थ नेताहरुका बारेमा आएका लान्छानाहरु बारे पनि कुरा भएको आँकलन भने गरिएको छ । हिजो काठमाडौ महानगरका मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री केपी ओलीको बारेमा सामाजिक सञ्जालमा लेखिएको विषयमा समेत कुराकानी भएको हुनसक्ने भएतापनि छलफलमा सहभागी नेतासँग निकट श्रोतले भने त्यस विषयमा कुनै कुरा नभएको दाबी गरेको छ ।
शीर्ष तीन नेताको भेटघाट भन्दा अगाडी नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्रीसँग बालुवाटारमै प्रदेश सरकार र समसामयिक राजनीतिको बारेमा छलफल गरेका थिए ।
जे होस तीन शिर्षस्थ नेताहरुको बालुवाटार भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।