
चर्चामा पुस्तक
थेम्सको लहरमा तामोरको स्पर्श
यस कविता सङ्ग्रह भित्र विभिन्न विषयका चालिस कविता सङ्गृहीत छन् । आमालाई रूपक बनाई नारी शक्तिमाथि लेखिएको ‘किनारीकृत आमाहरूलाई’ जस्तो अत्यन्तै सुन्दर कविताबाट सुरु भई त्यस्तै अर्को शक्तिशाली कविता ‘किन उस्तै छ तिम्रो र मेरो कहानी ?’मा पुगेर यो क्रम टुङ्गिन्छ ।
बेलायतमा रहेर काव्य साधना गरिरहनुभएकी कवि शान्ति लिम्बूका कविताको मूल स्वर नारी चेतना, आप्रवासन पीडा र मानवता नै हो । प्रेमको उच्चतम रूप पनि उहाँको कविताको अर्को महत्वपूर्ण विशेषता हो । आजको पहिचान लेखन, पर्यावरण लेखन, समानता, सहअस्तित्व वा मुक्तिको आवाज त हुने नै भयो । अझ इतिहासको स्मरण गर्दै आफ्नो स्वप्नको काल्पनिकी निर्माण गर्ने बेजोड कला उहाँसित छ । उहाँका कवितामा वर्णित त्यस्ता पङ्क्ति वा दृश्यविम्बले हामीलाई एकैचोटि लिम्बुवानका पहाड, खोला, देवीदेउरालीदेखि बेलायतका नदी, समुद्र हुँदै शहरका विचित्रतामा सयर गराउँछन् । सरल र सुबोध भाषाशैलीका कारण जोकोही पाठक उहाँका यी कवितामा लट्ठिन्छन् । पग्लिन्छन् ।
यो कृति रत्न पुस्तकले प्रकाशित गरेको हो ।
पहाडको पैताला
कवि चन्द्र सम्बाहाम्फेको यो कविताकृति आफैँमा एउटा उत्पीडितहरूको विश्व हो। यसभित्रका कविताले चेत, सामाजिक यथार्थ, जातीय पहिचान, प्रकृति प्रेम र सरल जीवन बाँच्न सिकाउँछ। कवि चन्द्रका आफ्ना जराहरूको खोजी गर्न उत्प्रेरित गर्छ। पहाडको पैतालोले शोषित, पीडित र सीमान्तकृतहरूको पक्षधरता गर्न आह्वान गर्दछ। कविको आफ्नै काव्यिक चेत, शब्दशिल्प, सरलता, विम्ब, प्रतीक, आलङ्कारिकताहरूको समुचित प्रयोगले कविताहरू जीवन बनेका छन्।
कवितामा उठाइएका विषय, सरल शब्द चयन, गहन भावअर्थ र सरस लयबद्धताले कविता सुन्दर, बोधगम्य र पठनीय बनेका छन् । सामाजिक विकृति विसंगति, जातीय र क्षेत्रिय विभेदमाथि व्यङ्ग्य प्रहार गर्दै समानतामा आधारित सुन्दर समाज निर्माणको परिकल्पना र वकालत गरेका छन् कविले कवितामार्फत ।
यो कृति स्रष्टा पब्लिकेशन, दमकबाट छापिएको हो ।
आगो खरानी जान्दैन
यस कवितासङ्ग्रहभित्रका कविताहरूको रसास्वादनपश्चात् रसिकवृन्दलाई अनुपम रसानुभूति हुन्छ र हृदयलाई आह्लादित बनाउँछ । वस्तुतः यसभित्र समाविष्ट कविताले हार्दिक आनन्दको उच्चतम बिन्दुसम्म पुग्याएर रसिकजनको ममस्तिष्कलाई झन्कृत बनाइदिन्छन् । सबैजसो कविताहरू यस्तै प्रकृतिका देखिन्छन् । यस्तो लाग्छ, कवि पाठकलाई अङ्कमाल गरिरहेका छन्, पाठकसँग हातेमालो गरेर हिँडिरहेका छन् अथवा भन्नौँ, कवि पाठकसँग साक्षात्कार गरिरहेका छन् । किनभने कविले पाठककै मनलाई प्रस्तुत गरिरहेजस्तो, पाठककै चिन्ता, पीडा वा दुःखसुख (विशेषतः दुःख) व्यक्त गरिरहेजस्तो लाग्छ । कुनै न कुनै रूपमा पाठकले आफूलाई नै पात्रको रूपमा देख्छ । आफ्ना निजी अनुभूतिहरूलाई लोकार्पण गरेर सार्वजनीन गर्नु कविको असाधारण विशेषता देखिन्छ । यस्तो विशेषताले नै स्रष्टालाई उच्चतातर्फ डोऱ्याउँछ । भाव, भाषा र वस्तुको त्रिवेणीलाई सन्तुलित रूपमा अभिव्यञ्जित गर्न सक्नु नै कविको सफलता हो । यद्यपि कविताका अन्य तत्त्वहरू पनि कम महत्वपूर्ण हुँदैनन् । यस कृतिका कवि उमेश लुइटेललाई विम्बका कवि भन्नु शायद अतियुक्ति नहोला । उनी विम्बमै बात गर्छन्, विम्बमै दुःखी हुन्छन्, विम्बमै रुन्छन् कराउँछन्, विद्रोह गर्छन्, व्यङ्ग्य गर्छन् ।
यो काव्यकृति पूर्वाञ्चल साहित्य प्रतिष्ठान,विराटनगरले प्रकाशन गरेको हो ।






