
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ र २४ गते आयोजना हुने पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलन मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल पनि न्यूयोर्क प्रस्थान गरेका छन्।
प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूले शुभकामना दिँदै बिदाइ गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भावी भूमिका, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण, भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई प्रभावकारी बनाउने उपाय तथा लैङ्गिक उत्तरदायी प्रहरी व्यवस्थाजस्ता विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
सम्मेलनका अवसरमा प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता र आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
प्रहरी महानिरीक्षक कार्की विदेश भ्रमणमा रहँदासम्म नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्ने नेपाल प्रहरीले जनाएको छ।



