
काठमाडौँ । इरानका सर्वोच्च नेता मुज्तबा खामेनी सुरक्षा कारणले आफ्ना पिता नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी नहुने भएका छन् ।
इरानका सर्वोच्च नेताका एक प्रतिनिधिलाई उद्धृत गर्दै सार्वजनिक भएको विवरणअनुसार सुरक्षा निकायले सम्भावित इजरायली आक्रमणको जोखिमलाई ध्यानमा राख्दै उनलाई अन्त्येष्टि समारोहबाट टाढा रहन सुझाव दिएको हो । यसबारे इरानी अधिकारीहरूले भने विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।
खामेनीलाई आगामी जुलाई ९ मा मशहद शहरमा अन्त्येष्टि गरिने कार्यक्रम छ । अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि सुरु हुनेछ ।
इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले देशवासीलाई ठूलो संख्यामा अन्त्येष्टिमा सहभागी हुन आह्वान गरेका छन् । उनले जनताको व्यापक उपस्थितिले विश्वलाई खामेनीको रगतको बदला लिइने सन्देश दिने बताएका छन् ।
अल जजिराका अनुसार गालिबाफले विश्वले इरानको प्रतिशोधको आवाज सुन्नुपर्ने बताएका छन् । उनले विशेष गरी युवा, सहिद परिवार, युद्धमा घाइते भएका नागरिक तथा महिला–पुरुष सबैलाई अन्त्येष्टिमा उपस्थित हुन आग्रह गरेका छन् ।
इरानका राष्ट्रपति मसुद पजश्कियानले पनि देशवासीलाई अन्त्येष्टिमा व्यापक रूपमा सहभागी हुन अपिल गरेका छन् । उनले खामेनेईको निधनलाई अन्त्य नभई इरानका लागि नयाँ अध्यायको सुरुआत भएको बताएका छन् ।
तस्निम समाचार संस्थाका अनुसार राष्ट्रपति पजश्कियानले जारी गरेको सन्देशमा खामेनीको निधनले इरानको शासन व्यवस्था आस्था, आदर्श र जनताको दृढ इच्छाशक्तिमा आधारित रहेको पुष्टि गरेको उल्लेख गरेका छन् । उनले जातीय, धार्मिक वा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्न सबै इरानीलाई अन्त्येष्टिमा सहभागी हुन आग्रह गरेका छन् ।
अन्त्येष्टिको तयारीस्वरूप तेहरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ग्रान्ड मोसल्ला परिसर वरपर खामेनेईका ठूला तस्बिर राखिएका छन् भने धेरै सडकमा आंशिक रूपमा आवागमन बन्द गरिएको छ। सरकारी टेलिभिजनले सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ । अत्यधिक गर्मीलाई ध्यानमा राख्दै नागरिकका लागि विशेष सुरक्षा तथा स्वास्थ्यसम्बन्धी निर्देशन पनि जारी गरिएको छ ।
यसैबीच, जुलाई ३ मा विदेशी प्रतिनिधिमण्डलका लागि छुट्टै कार्यक्रम राखिएको छ। इरानी अधिकारीहरूका अनुसार करिब ३० देशका प्रतिनिधि उक्त कार्यक्रममा सहभागी हुनेछन् । इरानले भने युरोपेली देशहरूलाई औपचारिक निमन्त्रणा नपठाएको जनाएको छ ।
खामेनीको अन्त्यष्टिमा इरानमा २ करोड भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । यसअघि सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएका थिए । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् ।
इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक-दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।
इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।



