
काठमाडौं । लगातार दुईपटक आईपीएल उपाधि जित्ने तेस्रो टोलीको इतिहास रच्दै आरसीबी फेरी आएपीएल च्याम्पियन बनेको छ ।
कप्तान राजत पाटीदारले टस जितेर पहिले बलिङ गर्ने निर्णय सही सावित गर्दै आरसीबीका बलरहरूले गुजरात टाइटन्स (जीटी)लाई १५५ रनमा सीमित गरे । टी २० मा यति रन पछ्याउनु आरसीबीको लागि ठूलो विषय थिएन । विराट नायक बन्दै सहजै टोलीलाई ५ विकेटको विजय दिलाए ।
टी–२० वा एकदिवसीय फाइनल कहिल्यै नहारेका जोश हेजलवुडले आफ्नो पहिलो ओभरमै शुभमन गिललाई आउट गर्दै आरसीबीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । त्यसपछि बलरहरूको दवदवा सुरु हुन थाल्यो । भुवनेश्वर कुमारले दुई विकेट लिएर केही समयका लागि पर्पल क्याप पुनः आफ्नो नाममा गरे भने रसिख सलामले तीन विकेट लिएर आफ्नो उत्कृष्ट आईपीएल सिजनलाई स्मरणीय बनाए ।
गत फाइनलका ‘प्लेयर अफ द म्याच’ क्रुनाल पान्ड्याले पनि चार ओभरमा २३ रन खर्चेर जोस बटलरको महत्वपूर्ण विकेट लिएका थिए । साथै कुणाल दुई फरक टोलीबाट लगातार उपाधि जोगाउने पहिलो खेलाडी समेत बने ।
पिचमा बल स्विङ भइरहेकोले उत्कृष्ट बलिङ लाइनअप भएको गुजरातले १५५ रनको स्कोर जोगाउन सक्ने अनुमान समेत गरिएको थियो । आरसीबीले पनि एकपछि अर्को विकेट गुमाउन थालेको थियो । यस्तोमा अनुभवी विराट कोहलीले जिम्मेवारीपूर्ण तर आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिताउन भूमिका खेले ।
उपाधि जोगाउने क्रममा उनी आईपीएलको फाइनलमा छरितो अर्धशतक बनाउने कीर्तिमान पनि रचे । खेल आरसीबीले २ ओभर बाँकी हुँदै जिते ।

