
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाँदै छन्।
भारतीय जनता पार्टी (भाजपा)अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभापति लामिछाने आज भारत जान लागेका हुन्। उनी दिउँसो १ बजे भारत प्रस्थान गर्ने रास्वपाका एक नेताले जानकारी दिए।
भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य छन्।
सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने बताइएको छ ।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्ति अनुसार लामिछानेले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ।
भ्रमणबारे रास्वपाले आइतबार राति विज्ञप्ती जारी गरेको थियो। जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो।
