
काठमाडौँ। गत फागुनमा भएकाे प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो।
नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएसँगै संसद्मै प्रतिनिधि सभा सदस्य वासना थापाले आपत्ति प्रकट गरिन्। थापाको तर्क छ, ‘प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पुर्याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने छ ।’
प्रतिनिधि सभा सदस्य रमेश मल्लले समेत राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले बिना तथ्य नेपालले पनि भूमि मिचेको भन्नु गम्भीर त्रुटि भएको भन्दै प्रश्न उठाए।
यस्तै एमालेका भूमिका लिम्बु, नेकपाका युवराज दुलालले पनि बालेनको अभिव्यक्तिमाथि प्रश्न उठाए । प्रधानमन्त्रीले विना अध्ययन र र्यान्डम रूपमा बोल्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धुमिल हुने सांसद खुश्बु ओलीले बताइन् ।

