
प्रेम
गोविन्दप्रसाद पराजुलीको खण्डकाव्यमा प्रेमको चास्नीमा घोलिएर सिर्जित गरिएका काव्यिक विषयहरु समावेश गरिएका छन् । सात खण्डमा विभाजन गरिएको यो खण्डकाव्यभित्र ललितपूरको चन्दनपूर र त्यहाँको प्राकृतिक सौन्दर्यको भरपुर वर्णन गरेका छन् ।त्यहाँकै विद्यालय र त्यहिँका पात्रहरु चयन गरी सुन्दर ढंगले पस्केका छन् विषयलाई । जन्म,पारिवारिक पृष्ठभूमि,पढाई,प्रेम लगायतका विषयमा उनले लेखेका छन् ।
कृतिभित्र दाजुबहिनीको प्रेम,प्रकृतिप्रतिको प्रेम,गुरुशिष्यबीचको प्रेम,श्रीमानश्रीमतिको प्रेम,दिदीभाइको प्रेम,प्रेमीप्रेमीकाको प्रेम,पढाइप्रतिको प्रेम जस्ता विषयहरुमा काव्य रचेका छन् ।
अनुप्रासको उचित संयोजन,सरल भाषा,सुक्तिमय,अनुष्टुप् छन्दमा खण्डकाव्य लेखिएको छ ।
प्रेम खण्डकाव्यलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरको हो । यसको मूल्य रु.२००। रहेको छ ।
अभिभावक शिक्षा
धीर भण्डारीको किशोर उमेरका बालबालिकाका अभिभावकले भोगिरहेका समस्यामा समाधानका उपाय पहिल्याउन प्रयास गरिएको कृति हो । यो पुस्तकमा स्वयं किशोर किशोरीहरुले जान्नै पर्ने जीवनउपयोगी कुराहरु पनि राखिएका छन् ।उनीहरुको लागि आवश्यक ज्ञान,सीपका कुारहरु पनि छन् ।
किशोर उमेरको जटिलता,हिंसाको मनोविज्ञान,अभिभावकले खेल्नुपर्ने भूमिका,किशोर उमेरका विशेषता ,चाहाना,मनोविज्ञान र स्वभाव जस्ता कुराहरुको जानकारी प्राप्त गर्न सकिन्छ । तिनको उमेरका आउने समस्यामा के गर्न सकिन्छ भन्ने पनि ज्ञान दिन्छ । साइबरबुलिंग,किशोरमैत्री सम्बाद जस्ता कुराहरु व्यवहारउपयोगी देखिन्छन् ।
सबैले बुझ्ने सरलभाषामा लेखिएको यो पुस्तक किशोरकिशोरी र तिनका अभिभावक,समाजका अगुवा,शिक्षक सबैको निम्ति उपयोगी छ ।
अभिभावक शिक्षालाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ ।
कुनिउँ
रामकुमार पण्डित सम्पादक र डा.कमला तामाङको सहसम्पादनमा आएको लघुकथासङ्ग्रहभित्र ७७ जना अग्रजदेखि अनुज लघुकथाकारहरुका एक एक थान लघुकथाहरु समावेश गरिएका छन्।
नेपाल र भारतभित्रका लघुकथाहरु यसमा समावेश छन् ।लघुकथाकारको छोटो परिचय र तस्वीर समेत कृतिमा राखिएको छ । कृतिभित्रका लघुकथाहरु पठनीय छन् ।यसको आवरण वसन्तराज अज्ञातले सुन्दर बनाएका छन् ।
कुनिउँलाई घुम्ती कविगोष्ठी नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३५०। राखिएको छ ।
दिव्य गिरी
साहित्यमा अर्धशताब्दी
विमल भौकाजीको सम्पादनमा साहित्यकार दिव्य गिरीका रचनाहरुमाथि विभिन्न समयमा गरिएका कविता,मुक्तक,गजल,हाइकु,कथा,लघुकथाका कृतिहरुमाथि विभिन्न समीक्षक,समालोचकहरुले गरेका समीक्षा र समालोचनाहरु समावेश छन् । यसैगरी गिरीसंग विभिन्न समयमा लिइएका अन्तरवार्ताहरु पनि यसमा समेटिएका छन् ।
कृतिभित्र गिरीका केही थान कविताहरु,हाइकु,गजल,मुक्तक र गीतहरु पनि राखिएका छन् । साथै कथा र लघुकथाहरु पनि समावेश छन् ।गिरीले विभिन्न संघसंस्थाहरुबाट विभिन्न समयमा प्राप्त गरेका सम्मान,पुरस्कार र प्रशंसापत्रहरु पनि कृतिले समेटेको छ ।
समग्रमा दिव्य गिरीको जीवनको ऐना लाग्छ कृति ।
दिव्य गिरी साहित्यमा अर्धशताब्दीलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.९९९। रहेको छ ।


